संसदमा एमसीसी कुनै पनि हालतमा अघि बढाउन नदिने अडानमा रहेको भनिएका सभामुख अग्निप्रसाद सापकोटाले बोली फेरेका छन् ।
सोमबार सर्वदलीय बैठक राखेका सापकोटाले बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दैै आफू एमसीसी रोक्ने पक्षमा नरहेको बताएका हुन् । आफ्नो भूमिका अम्पाएरको रहेको भन्दै उनले संसदका मुख्य खेलाडी दल र तीनका सांसदहरु नै रहेको बताए ।
सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सभामुख सापकोटाले अहिलेको अवस्थामा आफु सभामुखको हैसियतमा रहेकाले स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्ने बताएका हुन् ।
सदनलाई सुचारु गर्ने कुरा र छलफलको वातावरण बनाउने कुरा नै अहिलेको राष्ट्रको सबैभन्दा महत्वपूर्ण विषय रहेको भन्नेमा सर्वदलीय बैठकमा सहभागी दलका नेताहरु एकमत रहेको उनको भनाई छ ।
एमसीसी सभामुखले अघि नबढाए कांग्रेस र एमाले मिलेर सभामुखकै विरुद्ध महाअभियोग लगाउँने भन्ने समाचार बाहिरिरहेका बेला सभामुख एमसीसी अघि बढाउने पक्षमा देखिएका हुन् ।








