काठमाडौँमा आइतबारबाट फोहोर उठाउन छाडिएपछि उपत्यकामा दुर्गन्ध बढ्न सक्ने खतरा देखिएको छ ।
पासाङल्हामु राजमार्ग निर्माण कार्यमा ढिलासुस्ती र लापरवाही भएको भन्दै ल्यान्डफिल्ड साइडका स्थानीयले सडक अवरुद्ध गरेका छन् ।
काठमाडौँबाट फोहोर बोकेर ल्यान्डफिल्ड साइडमा जाने गाडीहरु अहिले रोकिएका छन् । यस अवरोधका कारण काठमाडौँको फोहोर उठ्न छाडेको छ । काठमाडौँ वातावरण विभागकी निमित्त प्रमुख सरिता राईले आइतबारबाट मुड्खु-तीन पिप्ले सडक खण्डमा स्थानीयले सडक अवरोध गरेपछि फोहोर विसर्जनका लागि समस्या आएको जानकारी दिएकी छिन् । उनले सडक निर्माण गर्ने जिम्मेवारी महानगरपालिकाको नरहेको तर फोहोर विसर्जनका लागि सहज वातावरण निर्माण लागि आफुले पहल गर्नुपर्ने बताएकी छिन् ।
त्यस्तै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार फोहोर विसर्जनका लागि समस्या समाधानको खोजी गर्न संघीय सरकारको ध्यानाकर्षण गराएको बताएका छन् । राजमार्ग निर्माण कार्य ०७० सालदेखि सुरु भएको र अहिलेसम्म पनि बन्न नसक्दा स्थानीयले पटक पटक आन्दोलन गर्ने र फोहोर विसर्जनमा समस्या आइरहेको उनको भनाई छ ।
यस अवरोधका कारण उपत्यका नै दुर्गन्धले भयावह हुनसक्ने उनको भनाई छ ।








