प्रमुख विपक्षी नेकपा एमालेले विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामाको माग गरेको छ ।
एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्तिमा ‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण रहेको उल्लेख गरेका छन् । यता मन्त्री खतिवडाले कोरोनाविरुद्धको पहिलो डोज खोप आफुले लगाएको कुरा झुटो रहेको दाबी गरेका छन् । तर तत्कालीन सरकारले ०७७ फागुन १९ देखि २१ सम्म संघीय संसद्का सदस्यहरुलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गरेको र उक्त अभिलेखमा ६२ बर्षका खतिवडाले Batch no. Batch no 4120Z004 को कोभिसिल्ड खोप लगाएको स्पष्ट देखिएको भट्टराईको भनाई छ ।
झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा दिन माग गरेको भट्टराईले बताए । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले अनुदानबाट प्राप्त गरेका र खरिद गरेका खोपहरुमध्ये २४ लाख खोप हराएको तथ्य ढाकछोप गर्न सरकारका तर्फबाट प्रयासहरु भइरहेका छन् । यसै सन्दर्भमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले एक अन्तर्वाताका क्रममा ‘खोपहरु नहराएको’ दावी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयम्ले कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
मन्त्रीहरुको गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारप्रति संवेदनशील भएर मन्त्री खतिवडालाई मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएको भट्टराईको भनाई छ ।








