एमसीसी संसदमा टेबुल हुने भएपछि विप्लब नेतृत्वको नेकपा सहितका विभिन्न ६दलीय कम्युनिष्ट गठबन्धनले आज नेपाल बन्दको आह्वान गरेपनि बन्दको प्रभाव भने खासै देखिएको छैन ।
राजधानीका सडकमा सवारीसाधन बिहानैबाट गुडेका छन् भने बजार पनि खुल्न थालेका छन् । प्रदर्शनकारीहरु सडकमा फाट्टफुट्ट रुपमा देखिएपनि प्रहरीको बाक्लो तैनाथीका कारण प्रदर्शनकारीले अबरोध गर्न सकेका छैनन् ।
प्रदर्शनकारीले एमसीसी सम्झौताका बिरुद्धमा नाराबाजी भने गरिरहेका छन् । राजधानीका चोक चोकमा प्रदर्शनकारीहरु प्रदर्शनमा उत्रिएपनि प्रहरीको संख्या बाक्लो रहेको छ ।
६ दलीय गठबन्धनले नेपाल बन्दको आह्वान गर्नुपूर्व नै गृह मन्त्रालयले कुनै अप्रिय घटना हुन नदिनका लागि मंगलबारबाट नै सुरक्षा व्यवस्था कडा बनाउँने निर्णय गरेको थियो । गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिन निर्देशन दिएको गृह स्रोतले जानकारी दिएको छ ।
केही वर्षअघि सम्म नेपाल बन्दको प्रभाव हुने गरेपनि पछिल्ला वर्षहरुमा बन्दको विकल्प खोज्नुपर्ने भन्दै जनस्तरबाट स्वतस्फुर्त रुपमा बन्दको अवज्ञा हुने गरेको छ । बन्दले जनजीवन कष्टकर पार्ने गरेको भन्दै जनतालाई दुःख नहुनेगरी विरोधका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।








