उदयपुर प्रहरीले बेलका नगरपालिका ८ सिरुवानीबाट ठूलो परिमाणको ४ सय केजी गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बेलका नगरपालिका ८ का २७ वर्षीय गोकुल राई, वडा नं ७ का २९ वर्षीय मनोज राई र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका १ का २३ वर्षीय मनिष धामी रहेका छन् । बरामद गाँजाको तौल ४ सय केजी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक सुवास चन्द्र बोहोराले जानकारी दिए ।
को १ ज २७६१ नम्बरको पिकअपमा निलो त्रिपालले छोपेर १६ बोरा गाँजा लिएर हिडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई फेला पारेको हो । प्रतीबन्धीत गाँजा ओसारपसारमा संग्लन पिकअप चालक गोकुल राई स्वयम सवारी धनी रहेको बोहोराले बताए ।
प्रक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नगद ६३ हजार २५ रुपैँयाका साथै सामसुङ्ग कम्पनीको १ थान, रेडमी कम्पनीको २ थान र नोकिया कम्पनीको १ थान गरी ४ थान मोवाइल समेत बरामद गरेको छ ।








