एमसीसी प्रकरणको सिधा फाइदा संस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेलाई भएको छ । एक डेढ सातायता एमसीसीलाई लिएर सडक र सदनमा जे भयो त्यसबाट मन्त्री आलेको अडियो प्रकरण ओझेलमा प¥यो ।
आफ्ना बारे सामाजिक सञ्जालमा नराम्रो कमेन्ट गरेको भन्दै मन्त्री आलेले भारतमा बस्दै आएका जगत ओली नामका एक युवालाई मुखै छाडेर गाली गरेको भिडियो केहीदिन अघि भाइरल भएको थियो ।
एमसीसी टेबुलको रस्साकस्सी यो समयमा चलेको थिएन भने सम्भवतः प्रेम आलेले मन्त्री पदबाट हात धोइसक्नुपर्ने अवस्था आउन सक्थ्यो । उनको पार्टी एकीकृत समाजवादीले अडियोबारे छानबिन गरी दोषी पाइए कारबाही गर्ने भनेको थियो ।
उता विपक्षी दलका नेताहरु पनि मन्त्री आले विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका थिए । आलेलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुुपर्ने माग सामाजिक सञ्जालमा जोडतोडले उठेको थियो । तर, यो बीचमा एमसीसीले उनको अडियो प्रकरण पुरै ओझेलमा पारिदियो । जबकी अडियो प्रकरणकै कारण तत्कालिन मन्त्री गोकुल बास्कोटाले राजीनामा दिनुपरेको थियो ।
एकीकृत समाजवादीकै एक नेता भन्छन्, ‘आले गोकुल बास्कोटाको तुलनामा निकै भाग्यमानी रहेछन् । मन्त्री जस्तो पदमा बसेर छाडा शब्द बोल्दा पनि न त पार्टीले कुनै कारबाही ग¥यो न त सामाजिक सञ्जालमा दिनदिनै उनको आलोचना चुलियो । बरु एमसीसीले आलेको अडियोलाई सर्च गर्दा मात्रै भेट्ने बनाइदियो । ’








