नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बस्ने संसद बैठकमा नजाने भएका छन् ।
एमसीसीबारे छलफल गर्न आज दिउँसो १ बजे संसद बैठक बस्दैछ । तर, संसद बैठकलाई भन्दा ओलीले पोखरामा आयेजित एक कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् ।
पार्टी परित्याग गरेर विभिन्न पार्टीका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने भएपछि उनीहरुलाई स्वागत गर्न अध्यक्ष ओली पोखरा लागेका हुन् । पोखराको कार्यक्रम सकेर संसद बैठक भ्याउने सम्भावना कम रहेका कारण उनी संसद बैठकमा सहभागी नहुने बुझिएको छ । यद्यपि ओलीको सचिवालयले भने संसद बैठकमा सकभर सहभागी हुने जानकारी दिएको छ ।
बिहिबारको संसद बैठक स्थगित भए लगत्तै ओली सहितका एमाले नेताहरु र प्रधानमन्त्री सहितका कांग्रेस नेताहरुबीच बानेश्वर र बालुवाटारमा गरी दुई पटक छलफल भएको थियो । उक्त छलफल एमसीसी सम्झौता कसरी पास गर्ने भन्ने विषयमा केन्द्रीत रहेपनि एमालेले आफ्ना मागहरु सम्बोधन नभएसम्म आफू संसदीय प्रकृयामा सहभागी हुन नसक्ने बताएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।








