Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

पाक्यो एमसीसीको खिचडी, जोगियो गठबन्धन


एमसीसीका पक्षमा कुनै हालतमा उभिन नसक्ने बताउँदै आएका सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी अन्ततः एमसीसी पास गर्ने अवस्थामा आइपुगेका छन् । व्याख्यात्मक घोषणासँगै उनीहरु एमसीसी पास गर्ने लाइनमा आएका हुन् ।

एमसीसीका पक्षमा नउभिए नेपाली कांग्रेस र एमालेको नयाँ गठबन्धन बन्ने निश्चित भएपछि उनीहरु एमसीसी पास गर्न सहमत भएको र त्यही अनुसार गृहकार्य अघि बढेको बुझिएको छ । एमसीसी पास गर्न प्रचण्ड र माधव नेपाल सहमत नहुँदाको अवस्थामा देउवाले ओलीसँग ४ बुँदे सहमति गरेर अघि बढ्ने तयारी गरेका थिए । त्यसमा सबैभन्दा पहिला माओवादी र एकीकृत समाजवादीका मन्त्रीहरुलाई बर्खास्त गर्ने त्यसपछि सभामुख सापकोटाविरुद्ध महाअभियोग लगाएर ज्यष्ठताका आधारमा महन्थ ठाकुरलाई संसदको अध्यक्षता गर्न दिने, दुई दल मिलेर एमसीसी पास गर्ने अनि संसदीय चुनावको घोषणा गर्ने लगायतका थिए । तर, यो चाल बुझेपछि प्रचण्ड र माधव नेपालले बालुवाटारमा आफ्ना दूत पठाएर एमसीसीका पक्षमा उभिन सहमत भएको जानकारी दिए । त्यतिले मात्रै प्रधानमन्त्री देउवा विश्वस्त हुन सकेनन् । उनले प्रचण्ड र माधव नेपाललाई नै बालुवाटार बोलाएर पार्टीबाटै निर्णय गराएर ल्याउनुस् अनि विश्वास गरौंला भनेपछि प्रचण्ड र माधव नेपाल पार्टीका आन्तरिक बैठक राख्न सहमत भए ।

जबकी नेपाली कांग्रेसले यसअघि माओवादी र एकीकृत समाजवादीलाई व्याख्यात्मक घोषणा गरेर एमसीसी पास गरौं प्रस्ताव राखेको थियो । तर, त्यो प्रस्ताव अस्वीकार गर्दै आएका प्रचण्ड र माधव नेपाल अहिले त्यही प्रस्ताव बमोजिम एमसीसी पास गर्न सहमत भएको बुझिएको छ ।
एमसीसीको व्याख्यात्मक घोषणा गरेर पास गरौं भन्ने प्रस्ताव कांग्रेस महामन्त्री गगन थापाले निकै पहिल्यैदेखि अघि सारेका थिए । तर, त्यो प्रस्ताव एकीकृत समाजवादी केन्द्र र माओवादीले अस्वीकार गर्दै आएका थिए । व्याख्यात्मक घोषणाका लागि १० बुँदे मस्यौदा तयार भएको छ । जसमा एमसीसी आइपिएसको अंग अन्तर्गत नहुँने, एमसीसी अमेरिकी कानुन अनुसार नभई नेपालको कानुन अनुसार लागु हुने, लेखापरिक्षण महालेखापरिक्षकको कार्यालयले गर्ने लगायतका घोषणा गरेर संसदले पास गर्ने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !
विचार