नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको प्रतिकूल नहुनेगरी एमसीसी कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
संसदबाट एमसीसी अनुमोदन भएपछिको परिस्थितीबारे पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले मुलुकको प्रतिकूल नहुनेगरी एमसीसी कार्यान्वयन हुनुपर्ने बताएका हुन् ।
एमसीसी अनुमोदनका समयमा पेश गरिएको व्याख्यात्मक घोषणाको कुनै औचित्य नरहेको भन्दै अध्यक्ष अोलीले जनतामा भ्रम छर्ने काम गरिएको बताए । एमसीसी यथास्थितीमा पारित भएको दाबी गर्दै उनले व्याख्यात्मक घोषणालाई नौटंकीको संज्ञा दिए ।
संसदको कुनै एक अधिवेशनमा पेश भएको प्रस्ताव त्यो अधिवेशनमा अघि बढ्न नसके अर्को अधिवेशनमा पुनः दर्ता गर्नुपर्ने संवैधानिक प्रावधान रहेपनि सरकारले ३ वर्षअघि पेश भएको एमसीसी सम्बन्धी मृत प्रस्तावलाई पुनः दर्ता नगरी अघि बढाइनु असंवैधानिक भएको उनले जिकिर समेत गरे ।








