संसदमा एमसीसीको विपक्षमा उभिएका एमाले नेता भीम रावललाई अध्यक्ष केपी शर्मा ओलीले हिरो बन्न खोजेको भनी आलोचना गरेका छन् ।
संसदबाट एमसीसी अनुमोदन भएपछि पार्टीको धारणा सार्वजनिक गर्न राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भीम रावल आत्मकेन्द्रित र आत्मप्रचारक रहेको बताए ।
एमालेले संसद अबरोध गरिरहेका बेला संसदीय प्रकृयामा भाग लिएका भीम रावलबारे तपाईँको धारणा के हो भनी पत्रकारहरुले राखेको जिज्ञासामा ओलीले भीम रावल आफूलाई हिरो देखाउँनेगरी अघि बढेको बताए । पार्टी नीति र सिद्धान्त विपरित रावल अघि बढेको भन्दै उनले यसलाई पार्टीले गम्भीर रुपमा लिएको जानकारी दिए ।
भीम रावल एमाले सल्लाहकार परिषदको सदस्य भएपनि पछिल्ला दिनमा पार्टी नीति र सिद्धान्त भन्दा बाहिर गएको उनको भनाई थियो । रावलले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै पार्टीलाई त्यो स्वीकार्य नहुने समेत उनले चेतावनी दिए ।
एमसीसी अनुमोदन गर्ने दिन एमालेका अन्य सांसदहरुले संसद अबरोध गरिरहेका बेला रावलले भने एमसीसीका विपक्षमा रोष्ट्रममा गएर बोलेका थिए । कि त सभामुखले राजीनामा दिनुपर्ने कि त आफूले कारबाही गरेका माधव नेपाल सहितका १४ सांसदको पद खारेज गर्नुपर्ने माग सहित एमालेले लामो समयदेखि संसद अबरोध गर्दै आएको छ ।
यता संसद अबरोध गर्दै आइरहेको एमालेले संसदबाट अनुमोदन भएको एमसीसी भने कार्यान्वयन हुनुपर्ने धारणा सार्वजनिक गरेको छ ।








