ललितपुर, २४ फागुन ।
सकृय स्काउटिङ्गबाट निवृत्त भएका स्काउटहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल स्काउट एण्ड गाइड्स फेलोशिप अन्तर्गतको ‘नेपाल स्काउट्स एण्ड गाइड्स फेलोशिप’ को दुईदिने दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भयो ।
देशभरीका एकसय भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको राष्ट्रिय महाधिवेशनले आगामी ४ वर्षको लागि नेपाल स्काउटका पुर्व प्रमुख आयुक्त श्रीराम लामिछानेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षद्वयमा तिर्थराज न्यौपाने र मन्जु अर्याल, अन्तर्राष्ट्रिय सचिवमा वैकुण्ठ मरहठ्ठा, सचिवमा हरिबहादुर श्रेष्ठ, सहसचिवमा दिनेश पाण्डे र कोषाध्यक्षमा बाबुकाजी डंगोल रहेका छन् ।

यसैगरि कार्यसमितिका सदस्यहरुमा मुक्तिनाथ ढकाल, जहरसिंह थापा, पार्वती गिरी, आनन्द प्रसाद गुप्ता, दिपेश केसी र राजुराजा सिंह चयन भएका छन् ।
‘नेपाल स्काउटस एण्ड गाइड्स फेलोशिप’का तालीमहरु सञ्चालन गर्न सो संस्थाको नेपाल स्काउटस एण्ड गाइड्स फाउण्डेशनका संयोजक चित्रबहादुर रायमाझिले चितवनको इच्छाकामना गाउँपालिका वडा नं ७ को १ कठ्ठा जमीन संस्थालाई निःशुल्क दिने घोषणा गरे ।
यसैगरि संस्थाको लागि फाउण्ड्शन सदस्य हरिबहादुर भण्डारीबाट ५ लाख, संस्थाका अध्यक्ष श्रीराम लामिछानेबाट ५० हजार, नेपाल स्काउटका पुर्व संयोजक रविन दाहालबाट ५० हजार, बाबुकाजी डंगोलबाट २५ हजार र अनिल सिलवाल र गंगा सापकोटाबाट जनही १०/१० हजार रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ ।
महाधिवेशनमा अध्यक्ष लामिछाने, नेपाल स्काउटका पुर्व संयोजकद्वय रविन दाहाल र चन्दन कौशिक, मन्जु अर्याल, चित्रबहादुर रायमाझि, मुक्तिनाथ ढकाल, ललितचरण श्रेष्ठ, तिर्थराज न्यौपाने र कोषाध्यक्ष बाबुकाजी डंगोललगायतले शुभकामना व्यक्त गरेका थिए ।
दुई दिने सो महाधिवेशनमा संस्थाको वार्षिक र आर्थिक प्रतिवेदन पारित गर्नुका साथै विधान संशोधन गर्दै आगामी वर्षमा मुलुकका सातै प्रदेशमा संस्थाका गतिविधि र कार्यक्रम विस्तार गर्ने निर्णय गरेको छ ।









