नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफुमाथि ढुंगा प्रहार भएको र चस्मा फुटेको कुरा भ्रामक खबर भएको बताएका छन् ।
यस्तो भ्रामक खबर सुनेपछि अध्यक्ष प्रचण्ड प्रमुख प्रतिपक्षी दल एमालेप्रति खनिएका हुन् । एमाले र उसका नेता कार्यकर्ताले भ्रामक प्रचार गर्न अभ्यस्त रहेको बताउँदै प्रचण्डले कर्णालीको कार्यक्रममा पनि त्यस्तै प्रचार भएको बताए ।
शुक्रबार पार्टीको कर्णाली प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका प्रचण्डमाथि कार्यक्रम हलमै ढुंगा प्रहार भएको भ्रामक खबर शुक्रबार फैलिएको थियो । त्यसबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतले समेत खण्डन गरिसकेको सन्दर्भमा प्रचण्ड पनि बोलेका हुन् ।
प्रचण्डले भने, ’सुर्खेतमा प्रचण्डमाथि ढुंगा प्रहार भयो, प्रचण्डको चस्मा फुट्यो भन्ने भ्रामक खबर अहिले भाइरल भएको रहेछ । हामी त्यहाँ सहभागी भएर आउनेहरुका लागि त्यो हाँसोउठ्दो कुरा भयो । त्यति अनुसाशित र भव्य रुपमा सफल भएको छ । मैले लगाएको चस्मा यही हो जस्ताको जस्तै छ । ’
एमाले भन्ने गुटका मान्छेहरु विछिप्त भएका छन् । उनीहरुले झूटो प्रचार गरेर पनि बाहिर केही भ्रम दिन सकिन्छ कि भनेर कोशिस गरेको देखिएको अध्यक्ष प्रचण्डको भनाइ छ ।
प्रचण्डले प्रतिक्रियावादी र अवसरवादीहरु जहिले पनि माओवादी आन्दोलन, माओवादी केन्द्र र यसको नेतृत्व उनीहरुका लागि चुनौति भएको बताए । त्यही कारण झुटो प्रचार र बेइमानी गर्नु उनीहरुको दिनचर्या बनेको प्रचण्डको भनाइ छ ।








