बलराम प्यासी
काठमाडौं, ३ चैत । सुर्याेदय र चियाको लागि प्रशिद्ध ठाउँ इलाममा जन्मेका चक्रपाणी दवाडी स्कुल पढ्दा काँग्रेस नेता विपि कोइरालाको साथै २०४६ सालमा बहुदल आएपछिका चर्चित नेताहरु कृष्णप्रसाद भट्टराई, गिरीजाप्रसाद कोइरालादेखि चिनीयाँ नेता माओत्से तुङ्ग (माओ), लेनिन लगायतको श्यामस्वेत र रंगीन तस्वीर कोर्ने गर्थे । त्यतिखेर ती नेताहरुको तस्वीर कमै भेटिने गथ्र्याे ।
राणा शासनको अन्त्यसंगै २००७ सालमा देशमा प्रजातन्त्र आएपछि पहिलोपटक भएको आमनिर्वाचनमा निर्वाचित भएका नेपाली काँग्रेसका नेता विश्वेश्वरप्रसाद कोइराला अर्थात बिपि कोइराला प्रधानमन्त्री बने ।
तिनै प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपि कोइरालाको श्यामस्वेत र रंगीन तस्वीर कोर्दै स्कुले जीवन सकेका चक्रपाणी दवाडी अर्थात चक्र दवाडी भविष्यमा तिनै बिपि कोइरालाको जीवनमा आधारित वृत्तचित्रमा अभिनय गर्न पाउँछु भनेर विपनामा सोच्ने त परै जावस् सपनामा पनि देखेका थिएनन् ।
सुशील कोइराला फाउण्डेशन तथा अन्वेषण न्यूजले तिनै उदारवादी कांग्रेस नेता बिपि कोइरालाको जीवनीमा आधारित रहेर निर्माण गरेको वृत्तचित्र ‘राजद्रोही राजनेता’ मा चक्र दवाडीले बिपिको छोटोे तर सशक्त अभिनय गरेर आफूलाई त्यतिखेरका बिपि भनेर चिनाउन सफल भएका छन् ।
२३ वर्षदेखि सिस्नुपानी नेपालमा आवद्ध रहेर गाइजात्रा महोत्सव र हरेक वर्षको देउसी भैलोमा सामूहिक रुपमा हाँस्यव्यंग्यात्मक कार्यक्रममा सहभागी हुँदै आएका चक्र विगत ६ वर्षदेखि सिस्नुपानी नेपालका केन्द्रीय सदस्य छन् । उनले अभिनय सम्वन्धि खासै तालीम लिएका छ्रैनन ।
‘करीव ५ फिट १० इन्च अग्लो र पातलो जीउ, लामो नाक, बिपी झैं देखिने टाउकोको आकारका कारण संयोगले आफु बिपि कोइराला बन्न पाएको’ उनको भनाई थियो । त्यसमाथि वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेलसंगको संगत र सिस्नुपानी नेपालमा आवद्धताका कारण पनि उनलाई ‘राजद्रोही राजनेता’ मा बिपि बन्न सिफारिस गर्नेको कमी थिएन । ‘त्यसो त मलाई वृत्तचित्र निर्माताद्वय सुशील कोइराला फाउण्डेशन तथा अन्वेषण न्यूजले नै बिपिको छोटो भूमिकाको लागि छानेको हो’—चक्रले भने ।
वृत्तचित्रमा उनको डाइलग छैन, मौन अभिनय छ । बिपिलाई राखिएको सुन्दरीजल जेलको कोठा, (हाल बिपि संग्रहालय सुन्दरीजल) मा बस्दा बिपि सुत्ने खाट र ओच्छ्यान,उनले प्रयोग गरेका टेबल, कुर्सी, कलम र डायरी आफैंले बिपि बनेर प्रयोग गर्न पाउँदा एकछिन आफु भावविह्वल भएको चक्रले बताए । ‘साँच्चै त्यो क्षण मेरो लागि रोमाञ्चक र भावनात्मक थियो’—उनले भने ।
सुटिङ्गको लागि ल्याएको सेतो दौरा सुरुवाल, कालो कोट र भादगाउँले कालो टोपीमा बाक्लो चस्मा लगाउँदा उनी ठ्याक्कै बिपि कोइराला नै देखिएका थिए ।
गएको माघको अन्तिम साता बिपि संग्रहालय सुन्दरीजलको बिपि हिरासत कक्षमै गएर झण्डै ५ घण्टा लगाएर कोण कोणबाट रंगीन र श्यामस्वेतमा बिपिको जेलजीवन खिचेका वृत्तचित्र÷चलचित्र निर्देशक मनोज पण्डीत, फाउण्डेशनका सदस्य सचिव अतुल कोइराला र अन्वेषण न्यूज डटकमका सञ्चारकर्मी जगत नेपाल (वृत्तचित्र स्क्रिप राइटर)को प्रशंसा गर्दै चक्र वृत्तचित्र ऐतिहासिक र खोजपूर्णरुपमा निकै राम्रो बनेको बताउँछन । सुटिङ्गका क्रममा उनले सो संग्रहालयका प्रमुख परशुराम पोखरेलसंग पनि भेटेर बिपिको जेल जीवनबारे बुझेका थिए ।‘राजद्रोही राजनेता’को निर्माण सकिएपछि केहीदिन अघिमात्रै त्यसको ‘प्रिमियर शो’ भएको थियो ।
विगत १० वर्षदेखि नयाँबानेश्वरको काव्य स्कुलमा पढाउँदै आएका चक्र ४ वर्षअघिदेखि भने सोही स्कुलको शैक्षिक प्रमुखको रुपमा काम गर्दै आएका छन् ।

स्कुले जीवनमा बिपिको चित्र कोर्ने चक्रपाणी अर्थात सिपी अहिले बिपि बन्न पाएकोमा दंग छन् । ‘चुच्चो नाक भएको पातलो र अग्लो मान्छे पनि कुनै बेला काम आउँने रहेछ’—उनले ठट्यौंली पारामा भने—‘त्यसको गतिलो उदाहरण म अर्थात बिपि हुँ’।
‘राजद्रोही राजनेता’को ‘प्रिमियर शो’ सकिएपछि उनले पंक्तिकारका साथै आफु आवद्ध भएको काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बाँस्कोटा, निर्देशकहरु प्रेमराज अर्याल, धर्मेन्द्र राजभण्डारी, सुनिलकुमार घर्ती, रिजन खड्का तथा शिक्षकहरु गणेशकुमार दाहाल, सन्ध्या रिजाल लगायतसंग आफ्नो अनुभव बाँडेका थिए ।








