Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

करिष्मालाई पार्टीमा प्रवेश गराउँदै ओलीले भने : एमाले बहुमतका साथ सरकारमा फर्कन्छ


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारबाट हटाइएपछि मुलुकको बिकास निर्माण प्रभावित भएको दावी गरेका छन् ।

मंगलबार काठमाडौंमा समाजवादी जनता पार्टी, अभिनेत्री करिष्मा मानन्धर लगाएतलाई एमाले प्रवेश गराउदै ओलीले अदालतको परमादेशबाट एमालेलाई सरकारबाट हटाएपछि बिकास निर्माणको काम अवरुद्ध हुन पुगेको बताएका हुन् ।

ओलीले हुलाकी राजमार्ग, मधेसका जिल्ला सदरमुकाम जोड्ने सडक विस्तार तथा स्तरोन्नति,पूर्व पश्चिम राजमार्गको विस्तार, सुनकोसी मरिन डाइभर्सनको सुरुवात र फुसका छाना हटाउने अभियानको सुरुआत एमालेले नै गरेको दावी गरे । त्यस्तै अध्यक्ष ओलीले आगामी निर्वाचनमा बहुमतका साथ एमाले सरकारमा आउने भन्दै निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

त्यस्तै एमाले प्रवेश गर्दै समाजवादी जनता पार्टीका अध्यक्ष प्रेम बहादुर सिंहले देश र जनताप्रति केन्द्रीत भएर काम गर्न एमाले फर्किएको बताए । १५ वर्षअघि एक्लै एमालेबाट अलग भएको भन्दै उनले अहिले टिम ल्याएर आएको बताए ।

कार्यक्रममा अभिनेत्री करिष्मा मानन्धरले आफू कुनै सौदावाजीबिना नितान्त कार्यकर्ताको रुपमा एमालेमा आएको बताइन् । उनले एमालेले मुलुकको वास्तविक एजेन्डा बोकेको भन्दै प्रतिपक्षमा रहे पनि देशको पहिलो पार्टी भएको बताइन् ।


प्रतिक्रिया दिनुहोस !
विचार