नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएपछि पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहको निवेदन बुधबार उच्च अदालत पोखराको पेसीमा चढ्ने भएको छ ।
तत्काल प्राप्त प्रमाणबाट शाहले जबरजस्ती करणी गरेको देखिएको भन्दै तनहुँ जिल्ला अदालतले गत चैत १० गते शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तनहुँ जिल्ला अदालतको उक्त आदेशविरुद्ध शाहको तर्फबाट मंगलबार उच्च अदालत पोखरामा पुनरावेदनको निवेदन दर्ता गरिएको थियो । थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनु पर्ने भन्दै शाहले उच्च अदालतमा निवेदन दिएका थिए ।
उच्च अदालत पोखराका सूचना अधिकारी उपरजिष्ट्रार विष्णुप्रसाद आचार्यका अनुसार शाहका तर्फबाट तनहुँ जिल्ला अदालतको थुनछेक आदेश बदर गरी साधारण तारेखमा रिहाइ गरिपाउँ भन्दै निवेदन परेको हो । शाहले मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम थुनुवाका तर्फबाट निवेदन परेको हो । उनको निवेदन बुधबार उच्च अदालतको पेशी सूचीमा चढ्ने सूचना अधिकारी आचार्यले बताए ।
तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले गत चैत १० गते शाहलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएका थिए । ढुङ्गानाले आफ्नो थुनछेक आदेशमै ‘१५ वर्षीय बालिकालाई ललाई फकाई विवाह गर्छु भनी जबरजस्ती करणी गरेको देखिन आएकाले’ भन्ने वाक्यांशको प्रयोग गर्दै पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ६७ बमोजिम शाहलाई तत्काल पुर्पक्षका लागि थुनामा पठाउने ओदश गरेका थिए ।






