Logo
१२ असार २०८३, शुक्रबार
|  Fri Jun 26 2026

मिरुनालाई गाली गर्नेहरु प्रायोजित हुन् ?


कबड्डी–४ कि नायिका मिरुना मगरमाथि सामाजिक सञ्जालमा गालीगलौज नरोकिएकोमा लेखक उपेन्द्र सुब्बाले चित्त दुखाएका छन् ।

सुब्बाले यस विषयमा आज दिउँसो दोस्रो स्टाटस लेख्दै “टिकटक भ्युज पाउनलाई बनाएको समाग्रीलाई सत्य मानेर आफ्नो धारणा बनाउनु कति जायज हो ?” भनी प्रश्न गरेका छन् । उनी उक्त चलचित्रका लेखक पनि हुन् ।

“दुई पक्षबीच मिलापत्र भइसकेको अवस्था छ । दुबै पक्षले आरोप प्रत्यारोप नगर्ने भन्ने पनि छ । दोष कसको थियो भन्ने कुरामा तर्क बितर्क नै नगरुंम् ।” अझै पनि मिरुनामाथिको गाली नरोकिएकोमा गुनासो गर्दै सुब्बाले लेखेका छन्, “मेरो कुरा यति मात्र हो, तपाईंहरुले जुन जुन भिडियो फुटेज हेरेर मिरुना मगरलाई गाली गलौज गर्दै हुनुहुन्छ, जो सही गलत भनी आफ्नो धारणा बनाउनु भा’छ ती सिसिटिभी फुटेज भनिएका मोबाइलले खिचेका भिडियोहरु के प्रयोजनका लागि थिए ?”

उनले मिरुनाको गल्ती देखाउने नियतले मोवाइलले खिचिएका फुटेज प्रयोग भएको आशंका गरेका छन् ।

“एकचोटि सोचौँ त ..तपाईंको सूचना स्रोत के हो ? ती भिडियो अपलोड गर्ने ब्यक्ति को हो ? भिडियो अपलोड गर्नुको उसको उद्देश्य के थियो ? यो पाटो सोचियो त ?” उनले भनेका छन्, “ती भिडियो जसले पोस्ट गरेका छन तीनका एकाउन्ट एकचोटि खोलेर त हेर्नुस् । के त्यो ब्यक्ति त्यति विश्वसनीय छ त ? समाजमा त्यो ब्यक्तिले येति धेर हैसियत राख्छ त ?”

वास्तविक नाम र परिचय लुकाएर जथाभावी गाली गर्ने प्रवृत्तिप्रति उनले रोश समेत प्रकट गरेका छन् । उनले भनेका छन्, “तपाईंकै स्टटसमा आएका कति कमेन्ट गर्ने मान्छेको प्रोफाइल चेक गर्नुस् त । प्रोफाइल लक गरेर गरेको छ ।”

स्टाटसमा उनले हामी फगत क्यारम बोर्डका गोटी मात्र भएको बताएका छन् ।

बिहान लेखेको स्टाटसमा चाहिँ उनले यस्तो कुरुप समाज बन्नमा आफ्नो पनि सानो हात भएको बताउँदै मिरुनासँग माफी मागेका थिए ।

“पहिचानको पक्षमा बीस वर्ष यता निरन्तर लेख्दै बोल्दै आएको म एउटा सानो लेखक । तर मलाई पत्तै भएन हाम्रो समाज यती संकीर्ण र साम्प्रदायिक भइसकेछ । पहिचानको आन्दोलनले हामीबाट मेरो भन्ने भइसकेछौं । मेरो जाति, मेरो भाषा, मेरो मान्छे ..यतिसम्म कि हाम्रो जति सबै राम्रो भन्ने भइसकेछौं ।” उनले लेखेका थिए, “होइन भने त जो जो ले मिरुना मगरलाई तथानाम गाली गर्दै हुनुहुन्छ, फुर्पाभाइको ठाउँमा अरु कोही बाहुन पुजारी कि त क्रिश्चियन पास्टर भएको भए पनि यसोरी नै गाली बेइज्यत गर्नु हुन्थ्यो होला ?”

“म त आदिवासी हुनुमा गर्व गर्थें । तामाङ, गुरुङ, मगर, शेर्पा, राई, लिम्बु सब एकै हो सोच्थें ।” उनले भनेका छन्, “समाज यति कुरुप बन्नमा मेरो पनि हात छ । सरी नानी ।”


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार