Logo
१३ कार्तिक २०८३, शुक्रबार
|  Fri Oct 30 2026

डा. गोविन्द केसीको सत्याग्रह इलाममा सुरु,सरकारसमक्ष ६ बुँदे माग


काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले सरकारसमक्ष राखेका माग सम्बोधन नभएको भन्दै बिहीबार इलाममा २५औँ सत्याग्रह सुरु गरेका छन् । सरकारलाई दिएको अल्टिमेटमको थप समयावधिमा पनि माग सम्बोधन नभएपछि डा. केसीले बिहीबार साँझ ५ बजेदेखि इलामस्थित नारायण मन्दिरमा सत्याग्रह सुरु गरेका हुन् ।

उनले सत्याग्रहबाट उत्पन्न हुने विषम परिस्थितिका लागि सरकार नै जिम्मेवार हुने चेतावनी दिएका छन्।डा. केसीले चिकित्सा शिक्षा आयोगले न्यूनतम पूर्वाधार र आवश्यक प्राज्ञिक जनशक्तिबिनै गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको र विभिन्न शिक्षण संस्थामा सिट वृद्धि गरेको विषयप्रति आपत्ति जनाएका छन्।

आयोगका उपाध्यक्षको पूर्वसंस्थासहित विभिन्न कलेजमा सिट वृद्धि गर्ने निर्णयले सम्भावित स्वार्थको द्वन्द्व र नियामक निकायको निष्पक्षतामाथि प्रश्न उठाएको उनले बताएका छन्। आवश्यक पूर्वाधार, कानुनी मापदण्ड र प्राज्ञिक जनशक्ति सुनिश्चित नगरी शैक्षिक कार्यक्रम सञ्चालन गर्दा चिकित्सा शिक्षाको गुणस्तर खस्किने र नागरिकको स्वास्थ्य जोखिममा पर्ने उनको भनाइ छ।

डा. केसीले सार्वजनिक स्रोतबाट निर्माण गरिएको गेटा शिक्षण अस्पताल अझै पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको भन्दै त्यसलाई तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरेका छन्। आवश्यक पूर्वाधार, जनशक्ति र कानुनी मापदण्ड पूरा भएपछि मात्रै त्यहाँ गुणस्तरीय शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताएका छन्।

यसअघि २४औँ सत्याग्रहका क्रममा २०८३ साउन ११ गते सरकारसँग भएको सहमति कार्यान्वयन नभएकोप्रति पनि उनले असन्तुष्टि जनाएका छन्। सहमति कार्यान्वयन गर्नुको सट्टा त्यसको मर्मविपरीत निर्णय भइरहेको आरोप लगाउँदै उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार