Logo
१३ कार्तिक २०८३, शुक्रबार
|  Fri Oct 30 2026

भुटानमा शिंताफू हिमताल विस्फोट:भारतका तटीय क्षेत्रमा ‘रेड अलर्ट’


काठमाडौं । भुटानको शिंताफू हिमताल फुटेका आशंका गरिएको छ । हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले सडक बगाएको छ । बाढीले लाया जोखांग सडकको एक खण्डमा क्षति पुर्याएपछि यातायात बन्द गरिएको छ । भुटानका अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाइ सुरक्षित स्थानमा लैजान आग्रह गरेका छन् ।
पुनाखास्थित मो छु नदीमा गएराति आएको आकस्मिक बाढीले सौर्य ऊर्जाबाट सञ्चालित सिँचाइ प्रणालीमा आंशिक क्षति पुर्याएको छ । गुमा गेओगअन्तर्गत दोछुखा–जोमलिङथाङ–रित्सा चिउवोगमा रहेको उक्त सिँचाइ प्रणाली बाढीका कारण क्षतिग्रस्त भएको हो ।

भुटानमा हिमताल विस्फोट भएपछि आएको बाढीको जोखिमलाई मध्यनजर गर्दै भारतको पश्चिम बंगालस्थित डुवर्स क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

राज्यका अधिकारीहरूका अनुसार शुक्रबार उत्तर बंगालको डुवर्स क्षेत्रका केही स्थानमा सतर्कता जारी गरिएको छ । हिमताल विस्फोटको वास्तविक आकार र त्यसले तल्लो तटीय क्षेत्रमा पार्न सक्ने प्रभावबारे भने तत्काल स्पष्ट हुन सकेको छैन ।

भुटानी सञ्चारमाध्यमका अनुसार गासा जिल्लास्थित वाकिला पर्वतको फेदीमा रहेको शिन्ताफु हिमताल विस्फोट भएको हो । भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस) ले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जनाएको छ । शिन्ताफु ताललाई भुटानका सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक मानिन्छ।

भारतको पश्चिम बंगालमा पनि अधिकारीहरूले डुवर्स क्षेत्रको संकोश नदी आसपासका बस्तीमा निगरानी बढाएका छन्। विशेषगरी अलिपुरद्वार जिल्लाको कुमारग्राम क्षेत्रलाई उच्च सतर्कतामा राखिएको छ । पश्चिम बंगालका गृह तथा पहाडी मामिलासम्बन्धी राज्यमन्त्री विशाल लामाले डुवर्सका केही क्षेत्रमा, विशेषगरी संकोश नदी आसपास सतर्कता जारी गरिएको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार