काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएकोप्रति आपत्ति जनाएको छ ।
एशोसिएसनका अध्यक्ष इन्जिनियर सुबास चन्द्र बरालले शुक्रबार विज्ञप्ति जारी गरी दुवै इन्जिनियरलाई नियन्त्रणमा लिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
कानुनी शासन, विधिको प्रक्रिया तथा व्यक्तिको मौलिक हकको सम्मान गर्दै कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिँदा स्थापित कानुनी प्रक्रिया र आवश्यक आधारको पूर्ण पालना हुनुपर्ने एशोसिएसनको धारणा छ ।
आधिकारिक कारण तथा कानुनी आधार सार्वजनिक नगरी गरिने गिरफ्तारीले विधिको शासन र पेशागत मर्यादामाथि प्रश्न उठ्ने भन्दै एशोसिएसनले असहमति जनाएको छ ।
एशोसिएसनले सम्बन्धित निकायसँग दुवै इन्जिनियरलाई नियन्त्रणमा लिनुको कानुनी आधार र कारण तत्काल सार्वजनिक गर्न माग गरेको छ । साथै उनीहरूको मानव अधिकार तथा कानुनी अधिकारको पूर्ण प्रत्याभूति गर्न र अनुसन्धान प्रक्रिया निष्पक्ष, पारदर्शी तथा कानुनसम्मत बनाउन आग्रह गरेको छ ।








