काठमाडौं । काभ्रेस्थित रोशी, ललितपुरस्थित बागमती र कोड्कु खोलाले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार, बिहान ११ बजेर ५० मिनेटमा काभ्रेस्थित रोशी र पनौती खोलामा बाढीले सतर्कता तह पार गरेको हो ।
त्यस्तै ललितपुरस्थित कोड्कु खोला झरुवारासीमा पनि सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ । नदीको तह बढ्ने क्रममा रहेकाले नदी छेउछाउमा रहनेहरूलाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
यसैगरी, लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।जलाशयमा पानीको सतह एक हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ । जलाशयको अधिकतम भण्डारण क्षमता एक हजार ५३० मिटर हो ।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले जलाशयको सतह तीव्र गतिमा बढिरहेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जलाशयको सतह केही घण्टामै एक हजार ५२८ मिटर नाघ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् ।








