रोयटर्स । अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले प्राविधिक समस्याका कारण देशभरका विमानस्थलबाट हुने उडानमा लगाएको रोक हटाएको छ ।हवाई ट्राफिक नियन्त्रण प्रणालीमा समस्या आएपछि शुक्रबार सबै प्रस्थान उडानमा अस्थायी रोक लगाइएको थियो । उक्त समस्याका कारण करिब ४ हजार ७ सय उडान रद्द भएका छन् भने दशौँ हजार यात्रु प्रभावित भएका छन् ।
अमेरिकी यातायातमन्त्री सिन डफीले स्विच र राउटरमा अत्यधिक डाटा प्रवाह हुँदा प्रणालीमा समस्या आएको बताएका छन् । उनका अनुसार स्थानीय समयअनुसार दिउँसो ३ः३६ बजे देशभरका राडार तथा सञ्चार प्रणालीमा अस्थिरता देखिएपछि उडान रोक्ने निर्णय गरिएको थियो ।
उनले अमेरिकाको हवाई ट्राफिक नियन्त्रण प्रणाली निकै पुरानो रहेको उल्लेख गर्दै यसको आधुनिकीकरणका लागि ५० अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताए । अत्याधुनिक हवाई ट्राफिक प्रणाली निर्माणका लागि संसद्ले आवश्यक स्रोत उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।
यसअघि तीन स्रोतले रक्षा तथा प्रविधि कम्पनी एलथ्री ह्यारिस (L3Harris) द्वारा सञ्चालित हवाई ट्राफिक नियन्त्रणसम्बन्धी दूरसञ्चार नेटवर्कमा आएको समस्यालाई घटनासँग जोडेका थिए ।
यसैबीच, अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले उडान रोक साइबर आक्रमणका कारण नभएको स्पष्ट पारेका छन् । हालै माइक्रोसफ्टका सेवामा देखिएका अवरोधसँग पनि घटनाको सम्बन्ध नरहेको उनले बताए । उनले सर्वसाधारण डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उडान रोक साइबर आक्रमण वा कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित भएको नदेखिएको बताएका छन् ।सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी हमलापछि अमेरिकामा सबै प्रस्थान उडानमा राष्ट्रव्यापी रोक लगाइएको यो दोस्रो घटना हो ।








