काठमाडौं । अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै शनिबार देशभर छठ पर्वको मुख्य पूजा गरिएको छ । छठ पर्वको तेस्रो तथा महत्त्वपूर्ण दिन तराई–मधेशदेखि काठमाडौं उपत्यकासम्मका नदी, पोखरी तथा जलाशयहरूमा व्रतालु र भक्तजनको घुइँचो लागेको छ।
यस अवसरमा व्रतालुहरूले जलाशयमा उभिएर अस्ताउँदो सूर्यदेवलाई अघ्र्य अर्पण गर्दै छठी माताको पूजा आराधना गरेका छन्। परिवारका सदस्यको सुख, शान्ति, समृद्धि, दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै उनीहरूले धार्मिक विधिअनुसार पूजा गरेका हुन्।
काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा पनि विशेष घाट निर्माण गरी छठ पूजा गरिएको छ। कमलपोखरीलाई समेत बत्ती, फूलमाला तथा विभिन्न सजावटले झकिझकाउ बनाइएको छ। साँझपख दीप र बत्तीले झिलिमिली बनेको कमलपोखरी क्षेत्रको दृश्य आकर्षक देखिएको छ।
विशेषगरी तराई–मधेश मूल घर भई काठमाडौंमा बसोबास गर्दै आएका समुदायले राजधानीमै छठ पर्वलाई उत्साहपूर्वक मनाउँदै आएका छन्। यससँगै काठमाडौंका विभिन्न नदी तथा पोखरी किनारमा पनि व्रतालु र श्रद्धालुको बाक्लो उपस्थिति देखिएको छ।
तराई–मधेशका जिल्लाहरूमा भने छठ पर्वको विशेष रौनक छाएको छ। घाटहरूमा सजावट, दीप प्रज्वलन र भक्तजनको उपस्थितिले नदी तथा पोखरी किनारमा उत्सवमय वातावरण बनेको छ। चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आइतबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रत समापन गरिनेछ।








