Logo
३ मंसिर २०८३, बिहीबार
|  Thu Nov 19 2026

म, प्रचण्ड र शेरबहादुर देउवा मजाकका पात्र हौँ ?


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आईजीपी) को अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् ।

बुधबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आईजीपीले आफू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्ने अभिव्यक्ति दिएको दाबी गर्दै त्यो गैरजिम्मेवार र उत्तेजक अभिव्यक्ति भएको बताए ।

राणा शासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आफूहरू राजनीतिमा आएको उल्लेख गर्दै ओलीले त्यस्ता अभिव्यक्तिले आफूहरू नतर्सिने बताए।ओलीले कानुनभन्दा माथि कोही नरहेको उल्लेख गर्दै गलत काम गरेको प्रमाण भेटिए प्रहरी महानिरीक्षकसमेत कारबाहीको दायरामा आउनुपर्ने बताए।

पछिल्लो समय विभिन्न जिम्मेवार पदमा रहेका व्यक्तिहरूबाट गैरजिम्मेवार अभिव्यक्ति दिएर समाजमा मनोवैज्ञानिक त्रास फैलाउने काम भइरहेको ओलीको आरोप थियो ।

एमाले दया, माया वा कसैको कृपाबाट स्थापित नभई संघर्ष र जनताको समर्थनबाट अघि बढेको पार्टी भएको दाबी गर्दै ओलीले पार्टीको राजनीतिक भविष्यबारे कसैले भ्रम पाल्न नहुने बताए।

उनले एमाले फेरि मूल गेटबाटै सिंहदरबार प्रवेश गरेर देश निर्माणको नेतृत्व गर्ने दाबीसमेत गरे । बालेन साह नेतृत्वको सरकार बनेपछि समाज उल्टोबाटोतिर लागेको तथा जनताप्रति सरकार उत्तरदायी हुन नसकेको बताए ।उनले जेनजी विद्रोहको बहाना बनाएर तालिमप्राप्त अपराधीलाई परिचालन गरेर वितण्डा मच्चाउने काम भएको दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार