काठमाडौं । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गरेका छन् । १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस भएको जिकिर गर्दै उनले पार्टीको पहिचान र विरासतलाई कसैले खोस्न नसक्ने बताएका हुन् ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको प्रचारप्रसार तथा सञ्चार व्यवस्थापनका लागि स्थापना गरिएको मिडिया सेन्टर शुभारम्भ समारोहमा उनले उक्त कुरा बताएका हुन् ।
महतले आफूहरू एकीकृत कांग्रेस निर्माणको पक्षमा रहेको उल्लेख गरे । सामाजिक सञ्जालको प्रभाव र विभिन्न भ्रमका कारण पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई पुनः मूलधारमा फर्किन उनले आग्रह गरेका हुन् ।
उनले महाधिवेशनमा सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने आफूहरूको चाहना रहेको पनि उनले बताए । पार्टीभित्र सहमति र एकताको वातावरण निर्माण गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो।
महतले पार्टीको संगठनात्मक एकता र समावेशी सहभागिता महाधिवेशनको प्राथमिकता हुनुपर्ने उनले बताए । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २४ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ ।







