Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

एउटा झुठो खबर जसले विश्वलाई नै आश्चर्यचकित तुल्यायो


बिबिसीदेखि लिएर विश्वका ठूला र विश्वसनिय भनिएका सञ्चार माध्यमले केहीदिनअघि एउटा समाचार लेखे–एकै महिलाले एकैपटकमा १० बच्चा जन्माइन् । दक्षिण अफ्रिकाकी ती महिलाले एकैपटकमा १० बच्चा जन्माएको खबर विश्वलाई नै आश्चर्यचकित पार्ने थियो । त्यो खबरले सन्सनी मच्चियो पनि ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुलाई उदृत गर्दै नेपाली मिडियामा पनि यो समाचारले प्राथमिकता पायो । सामाजिक सञ्जालमा यो समाचार भाइरल नै भयो । तर, दक्षिण अफ्रिकाकी ती महिलाले एकैपटकमा १० वटा बच्चा जन्माएको दाबी असत्य रहेको पाइएको छ । दक्षिण अफ्रिकी अधिकारीले सो खबर झुठो भएको पुष्टि गरेका छन् ।
दक्षिण अफ्रिाकाको खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा त्यसरी बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्तीय सरकारले जनाएको छ । अझ स्वास्थ्य परीक्षणले त गोसियामे थमारा सिथोले हालै गर्भवतीसमेत नरहेको देखाएको थियो ।
३७ वर्षीया ती महिलालाई अहिले मानसिक स्वास्थ्यसम्बन्धी कानुन अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको छ । उनले किन झुठा समाचार दिइन त्यसको कारण भने खुलिसकेको छैन ।
प्रिटोरीआ न्यूजको स्वामित्वमा रहेको इन्डिपेन्डेन्ट अनलाइन (आइओएल) ले यसबारे सबै भन्दा सुरुमा समाचार लेखेको थियो भने त्यसैलाई फलो गर्दै अन्य सञ्चार माध्यमले पनि यसबारे समाचार लेखेका थिए । तर, आइओएलले किन यसरी झुठो समाचार लेख्यो भन्ने कुरा भने थाहा भएको छैन । आइओएलले गएको जुन ७ मा स्टिभ बिको एकेडेमिक हस्पिटलमा बच्चा एकै महिलाले एकै पटकमा १० बच्चा जन्माएको उल्लेख गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार