नागरिक अभियन्ता नारायण वाग्लेले न्यायालयको समस्या समाधान नगर्ने हो भने बालुवाटारबाट घर फर्कन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएका छन् । न्यायालयको विवाद समाधानमा दलले निकास दिनुपर्ने भन्दै बिहीबार आयोजित सर्वोच्च अदालत-बालुवाटार ‘न्याय मार्च’ पछि सम्बोधन गर्दै अभियन्ता वाग्लेले प्रधानमन्त्री देउवालाई बालुवाटारमा सुतिरहने हो भने बुढानीलकण्ठ फर्किन सुझाव दिएका हुन् ।
एक महिना न्यायालय अवरुद्ध हुँदाखेरि न्यायालको समस्या समाधान गरोस् भनेर बेवास्ता गरेको भन्दै पत्रकार वाग्लेले अक्रोश पोखे ।‘जसले बुढानीलकण्ठमा सुतिरहेका व्यक्तिलाई पानी छम्केर बालुवाटार ल्यायो । तिनी एक महिनासम्म बालुवाटारमा सुतेको सुत्यै छन् । यदि सुतिरहने हो भने बुढानीलकण्ठ फर्के हुन्छ’ उनले भने ।
पत्रकार वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायपालिकाको समस्यालाई नजरअन्दाज गर्दै फैसला गर्ने सबै न्यायाधीशको राजीनामा मागेको भन्दै विरोध जनाए ।
‘न्याय भन्ने तत्व नै नरहेको जिनिस बनाइसक्दा पनि, मुद्दाहरु सडकमा छरपस्ट भइसक्दा पनि फैसला गर्ने सबैले राजीनामा दिउन् भन्दै न्यायपालिकाप्रतिको आफ्नो जवाफदेहिता र भूमिका बिर्सने नेतालाई म भन्छु । यही सोच्ने हो भने तपाईं काठमाडौं नफर्के हुन्छ’ वाग्लेले भने ।
उनले ओलीलेलाई राजनीति छाडेर देवघाट जान सुझाव दिए । ‘नजिकै छ देवघाट छ । नारायणी किनारबाट तपाई देवघाट जानुस् । ५ लाख कार्यकर्ताले १ -१ रुपैयाँ उठाए पनि तपाईलाई सुनको कमन्डलु किन्न पुग्छ’ उनले भने ।





