Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sat May 30 2026

एमाले महाधिवेशन : आज बन्दसत्र, सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी


नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ। चितवनको सौराहस्थित सेभेन स्टार होटल परिसरमा बिहान १० बजे सुरु हुने बन्दसत्रमा विधान संशोधन प्रस्ताव पेश गरिने जनाइएको छ। बन्दसत्रमा २ हजार १७५ प्रतिनिधि सहभागी हुनेछन्।

शुक्रबार राति बसेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्ने निर्णय गरेको थियो। सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने गरी विधान संशोधन प्रस्ताव तयार गरिएको छ।

पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार एमाले केन्द्रीय कमिटीमा अब अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव १, उपमहासभिव ३ र सचिव ७ गरी १९ जना पदाधिकारी हुनेछन्। यसअघि हटाइएको पोलिटब्युरो पनि ब्युँताउने निर्णय केन्द्रीय कमिटी बैठकले गरेको छ। केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिट्ब्युरो गठन गर्नेछ।

सर्वसम्मत नेतृत्व चयनको प्रयास स्वरुप पद थपेर केन्द्रीय कमिटीको संख्या बढाइए पनि पदाधिकारीमै चुनाव हुने सम्भावना टरिसकेको छैन। उपाध्यक्ष भीम रावलले आफू कुनै हालतमा पछि नहट्ने भन्दै अध्यक्षमा उम्मेदवारी दिने बताएका छन्। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, सुवास नेम्बाङ र रामबहादुर थापा ‘बादल’ले आकांक्षा देखाएका छन्।

महासचिवमा विष्णु पौडेल, शंकर पोखरेल र सुरेन्द्र पाण्डेले दाबेदारी प्रस्तुत गर्दै आएका छन्। वरिष्ठ उपाध्यक्षमा दाबी गर्नेलाई उपाध्यक्ष र महासचिवमा दाबी गर्नेलाई उपमहासचिवमा व्यवस्थापन गर्न उपाध्यक्ष र उपमहासचिवको संख्या दुईरदुई वटा थप गरिएको हो। सचिवको संख्या सात भए पनि आकांक्षी पाँच गुणा बढी भएकाले यसमा पनि नेताहरुको व्यवस्थापन चुनौतीपूर्ण छ। यद्यपि‚ पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन हुने दाबी नेताहरुले गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार