एमाले अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावपछि राष्ट्रपति बनाउने आश्वासन दिँदै वरिष्ठ उपाध्यक्षमा दाबी छाड्न सुवास नेम्वाङलाई आग्रह गरेका छन्। तर नेम्वाङलाई राष्ट्रपति बनाउने प्रस्ताव अस्वीकार गर्दै वरिष्ट उपाध्यक्षमै लड्ने अडान लिएका छन् ।
नेम्वाङ निकट स्रोतका अनुसार ईश्वर पोखरेललाई सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्ष बनाउन आग्रह गर्दै नेम्वाङलाई उपाध्यक्षमा मात्रै बसिदिन ओलीले आग्रह गरेका थिए। तर जवाफमा नेम्वाङले आउँदो चुनावमा एमालेले राष्ट्रपति पद पाउने गरी चुनाव जित्ने ज्ञारेन्टी नभएको बताएका छन् ।
ओलीको प्रस्तावपछि नेम्वाङको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंको प्रस्ताव राम्रै हो। तर एमालेले चुनाव जित्ने के ज्ञारेन्टी छ ?’
नेम्वाङले यसअघि नै चुनाव हुने अवस्थामा आफू वरिष्ठ उपाध्यक्षको उम्मेद्वार हुने घोषणा गरेका छन् । शुक्रबारको केन्द्रीय कमिटीले उपाध्यक्ष एक वरिष्ठसहित सात र उपमहासचिव तीन जना पुर्याउँदा पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुने देखिएको छैन।





