दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपाल भित्रने जोखिम रहेको सरकारले बताइरहेको छ। अप्रत्यक्ष रूपमा कोरोनाको नयाँ भेरियन्ट भित्रन सक्ने हुँदा सावधानी अपनाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
धेरै देशमा यो भेरियन्ट देखिसकेको अवस्थामा नेपालमा पनि देखिन सक्ने जोखिम उच्च रहेको बताइन्छ। यो भेरियन्ट भर्खरै देखिएको हुँदा यसबारे धेरै जानकारी बाहिर नआए पनि हालसम्मको अनुसन्धानमा यो भेरियन्ट अलि कडै खालको रहेको बताउँछन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन। उनका अनुसार हाम्रोमा खुला सिमाना भएको र पछिल्लो समय यो भेरियन्ट देखिएका देशबाट मान्छेको आवतजावत भइरहेको अवस्थामा नयाँ भेरियन्ट चाँडै भित्रने जोखिम बढ्दै गएको बताए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा अहिलेसम्म कोरोना भाइरसको नयाँ रूप ओमिक्रोन देखापरेको पुष्टि नभएको बताउँछन्। उनले नेपालमा अहिलेसम्म नदेखिए पनि फैलने भने सम्भावना रहेको बताए। ‘नेपालमा पनि उक्त भाइरस फैलिने सम्भावना उच्च रहेको छ तर हामी फैलिन नदिनका लागि तयारी अवस्थामा रहेका छौ’‚ उनले भने।
मन्त्रालयले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकामा रहेका सहायता कक्षले विदेशबाट आउने व्यक्तिमा ओमिक्रोन भाइरसको सङ्क्रमण छ वा छैन भनेर निगरानी तीव्र बनाएको छ। यस्तै विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने गरिएको र ती व्यक्तिमा कस्तो लक्षण देखिएको छ, त्यसको पनि निगरानी गरिएको डा अधिकारीले बताए।






