Logo
१ कार्तिक २०८३, शनिबार
|  Sat Oct 17 2026

कर्णली प्रदेशसभा बैठक आज बस्दै, मुख्यमन्त्री शाहीले विश्वासको मत लिने


कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत माग्ने भएका छन्। यसका लागि दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ। मुख्यमन्त्री बनेको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोहीअनुसार उनले नियुक्त भएको २८ सौं दिनमा विश्वासको मत माग्न लागेका हुन्।

पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ताको नेतृत्व हस्तान्तरण गरेपछि कांग्रेस संसदीय दलका नेता शाही कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। आजको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित रहने भएको छ।

सबै सांसदहरु एमालेको जारी दशौं राष्ट्रिय महाधिवेशनमा भाग लिन चितवन पुगेका कारण आफूहरु बैठकमा सहभागी हुन नसक्ने एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए। एमाले अनुपस्थित भए पनि संसद् बैठक चल्ने छ। मुख्यमन्त्रीले विश्वासको मत नलिँदा संवैधानिक जटिलता आउने भएका कारण बैठक चल्ने सभामुख राजबहादुर शाहीले बताए।

सत्तारुढ गठबन्धनले मुख्यमन्त्रीलाई विश्वासको मत दिने छन्। प्रदेशसभामा कायम रहेका ३५ सदस्यमध्ये मुख्यमन्त्रीलाई १८ जनाको विश्वासको मत आवश्यक पर्छ। सत्तारुढ गठबन्धनसँग २३ मत छ। मुख्यमन्त्रीले विश्वासको मत पाएपछि मात्रै मन्त्रालयको भागबन्डा टुङ्गो लगाउने भएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार