Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

ओमिक्रोन भेरियन्टको प्रभावः स्वास्थ्य मन्त्रालयले जारी गर्यो यस्तो विज्ञप्ति


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम नपरी विदेश भ्रमणमा नजान आग्रह गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा सङ्क्रमण फैलिन नदिन अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिएको बताएका छन् । उनकाअनुसार हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परेको छैन । उनले ओमिक्रोन भेरियन्टको आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको बताएका छन् ।

“नयाँ देखिएको ओमिक्रोन भेरियन्टलाई समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा सबै निकाय तीव्र रूपमा एक भएर काम गरिरहेको अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ ।

उनकाअनुसार उक्त भेरियन्टले बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ । ओमिक्रोन सङ्क्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्नरगराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

केही दिनअघि मात्र अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट साउथ अफ्रिका तथा एसियाका केही मुलुकमा अहिले तीव्र विस्तार भइरहेको अवस्था छ । विश्व स्वास्थ्य सङ्गठनले यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरेको छ । त्यसैले संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बन्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन मन्त्रालयको अपील छ ।

 

 

 


प्रतिक्रिया दिनुहोस !
विचार