परिवारवादको कुरुप नमुना श्रीलंकामा देखिएको छ । एकैघरका पाँच भाइ राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीसम्म रहेका छन् । राज्यमन्त्री र अन्य उच्चपदस्थ व्यक्ति समेत एकै घरका छन् ।
श्रीलंकामा गोटवाया राजापाक्षे राष्ट्रपति छन् भने उनका दाइ महिन्दा राजापाक्षे प्रधानमन्त्री छन् । बिहिबार मात्रै ७० वर्षीय बासिल राजापाक्षे श्रीलंकाको अर्थ मन्त्री बने । उनी राष्ट्रपति र प्रधानमन्त्रीका भाइ हुन् ।
अहिले प्रधानमन्त्री रहेका ७५ वर्षीय महिन्दा सन् २०१५ सम्म श्रीलंकाको राष्ट्रपति रहेका थिए । राष्ट्रपति रहिसकेका महिन्दा फेरि प्रधानमन्त्री बने । महिन्दा राष्ट्रपति रहँदा अहिले अर्थमन्त्री बनेका बासिल उनको आर्थिक सल्लाहकारका रुपमा रहेका थिए । राजापाक्षे परिवारका जेठा दाजु छामल राजापाक्षे सिँचाइ मन्त्री छन् भने प्रधानमन्त्री महिन्दाका छोरा ३५ वर्षिय नमाल राजापाक्षे युवा तथा खेलकुद मन्त्री रहेका छन् ।