Logo
२८ श्रावण २०८३, बिहीबार
|  Thu Aug 13 2026

ओमिक्रोन तीव्र गतिमा फैलियो, भिडभाड हुने कार्यक्रम रद्द गर्नुहोला : डब्लुएचओ


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बिदाको समयमा फैलिन सक्ने भन्दै चेतावनी दिएको छ । क्रिसमस तथा नयाँ वर्षको बिदा पारेर हुने यात्राका क्रममा ओमिक्रोनको संक्रमण फैलिन सक्ने भन्दै यात्राका केही योजनाहरु रद्द गर्न समेत डब्लुएचओले आग्रह गरेको छ ।

डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भनेका छन्, ‘जीवन नै गुमाउने भन्दा केही कार्यक्रमहरु रद्द गर्नु उपयुक्त हुन्छ । यो कठिन निर्णय हो तर गर्नै पर्ने चाहिँ हो ।’

डेल्टा भन्दा ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएको तथ्य रहेको उनले बताएका छन् । ५० भन्दा बढी उत्परिवर्तन (म्युटेशन) भएको ओमिक्रोन निकै संक्रमक रहेको प्रारम्भीक तथ्यहरुले देखाएका छन् । संक्रमण रोक्नका लागि विभिन्न देशहरुले प्रतिबन्धात्मक नियम कडा पारेका छन् ।

युरोपमा फ्रान्स तथा जर्मनीसहितले यात्रा प्रतिबन्ध लगाएका छन्, नेदरल्याण्ड्सले कडा लकडाउन लागु गरेको छ । यता अमेरिकाको रोग नियन्त्रण केन्द्रले दिएको जानकारी अनुसार पछिल्लो एक सातामा भेटिएका नयाँ संक्रमितमध्ये ७३.२ प्रतिशत संक्रमितमा ओमिक्रोन भेरियन्ट देखिएको हो।

सीडीसीका अनुसार अमेरिकाको केही राज्यमा नयाँ संक्रमितमध्ये ९० प्रतिशतभन्दा धेरैमा ओमिक्रोन भेरियन्टसहितको संक्रमण देखिएको छ। ओमिक्रोन संक्रमणको विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार