Logo
२७ बैशाख २०८३, सोमबार
|  Mon May 11 2026

महामारीमा सञ्चालित विद्यालयलाई कारबाही गर्ने चेतावनी


काठमाडौं महानगरपालिकाकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन्।

कोरोनाको तेस्रो लहर तीव्ररूपमा बढिरहेको भन्दै सरकारले गत पुस २७ गतेदेखि सबै विद्यालय भौतिक उपस्तिथिमा सञ्चालन नगरी वैकल्पिक माध्ययमबाट सञ्चालन गर्न निर्देशन दिएको थियो। सरकारले दिएको निर्देशनको बेवास्ता गरी महानगरपालिकाका वडा नम्बर १५ र १८ का केही निजी विद्यालय सञ्चालन भइरहेका बताइएको छ। वडा नम्बर १५ मा सञ्चालित फ्युचरस्टार बोर्डिङ स्कुलले बिहान र दिउँसो दुई समूहमा पठनपाठन गरिरहेको छ। त्यस्तै‚ घना बस्ती रहेका अन्य केही वडामा पनि विद्यालय सञ्चालन भइरहेका जनाइएको छ।

यस सन्दर्भमा महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले सरकारले जारी गरेको निर्देशनविपरीत सञ्चालन भएका विद्यालय तत्काल बन्द नगरे कारबाही गर्ने चेतावनी दिएका छन्। सुवेदीले भने, ‘महामारी नियन्त्रणका लागि सबैले साथ र सहयोग गर्नुपर्ने समयमा निर्देशनविपरीत शुल्क लिने बहानामा विद्यालय सञ्चालन गर्नु दण्डनीय छ।’


प्रतिक्रिया दिनुहोस !
विचार