सरकारले एक, दुई दिनभित्रै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले जेठ ४ गते एकै चरणमा चुनाव गर्ने प्रस्ताव गरेको पाँच दिन हुँदा पनि सरकारले निर्णय गर्न ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ । तर आवश्यक तयारी नपुगेकाले अस्ति बिहीवार मन्त्रिपरिषद्को बैठक बस्न नसकेको र अब बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सरकारले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने राज्यमन्त्री उमेश श्रेष्ठले अब बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको बताए। उनले तोकिएकै समयमा चुनाव गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए । मन्त्रिपरिषद्को नियमित बैठक सोमवार र बिहीवार बस्ने गर्छ । अब सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने तयारी छ ।
यसअघि आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलमा जेठ ४ गते चुनाव गर्ने समझदारी भएको थियो । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गर्न बाँकी रहँदा निर्वाचन आयोग भने चुनावको तयारीमा जुटेको छ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको तर्फबाट गर्नुपर्ने तयारी भइरहेको जानकारी दिए ।








