सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेसँगै दलहरुले विभिन्न खालका प्रतिक्रिया दिन थालेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमाले र राप्रपाले यसअघि नै यो निर्णयको स्वागत गरिसकेका छन् ।
सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले बैशाख ३० मा स्थानीय चुनाव गर्ने सरकारको निर्णय संविधानविपरीत भएको दाबी गरेको छ। पार्टीका महासचिव डा। बेदुराम भुसालले चुनाव घोषणा गर्दा संविधान मिचिएको बताए।
स्थानीय चुनावका सन्दर्भमा संविधान र कानुन बाझिएको भन्दै उनले संविधान अनुकूल कानुन संशोधन गर्न आफूहरुले दिएको सुझावको सुनुवाइ नभएको पनि बताए। भुसालले यस विषयमा अदालतमा मुद्दा पर्न सक्ने संकेत गर्दै मिति घोषणा भए पनि चुनाव हुने वा नहुने अन्यौल कायमै रहको टिप्पणी गरे।
२०७४ मा तीन चरणमा चुनाव भएकाले बैशाख ३० मा चुनाव गर्दा कतिपय जनप्रतिनिधिको कार्यकाल संविधानबमोजिम पाँच वर्ष नपुग्ने महासचिव भुसालले जिकिर गरे। महासचिव भुसालले आफूहरु चुनावमा जान नडराएको पनि दाबी गरे ।








