Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

सभामुखले एमसीसी रोक्न मिल्दैन: अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्णय गरेर संसदमा पेस गर्न लागेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई सभामुखले रोक्न नपाउने बताएका छन् । आज शुक्रवार स्थानीय तहको चुनावबारे एमालेले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय सहमति नभएसम्म एमसीसी सदनमा टेबल नगर्ने अडान लिएका बेला शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले सरकारले निर्णयार्थ पेश गरेको एमसीसी रोक्छु भन्न नमिल्ने बताएका हुन् । उनले भने, ‘सभामुखले सरकारले निर्णयार्थ पेश गरेको एमसीसीलाई पेश नगरेर रोक्छु भन्न मिल्दैन । यो गठबन्धनको निरीहता हो । सत्ता गठबन्धन चुइक्क बोल्न सक्दैन । संसदले के गर्छ आफ्नो ठाउँमा होला तर, निर्णयार्थ पेश गर्नुपर्‍यो नि । सभामुखले अनाधिकृत क्रियाकलाप गरे ।’

सत्ता गठबन्धन नै एमसीसीबारे एकमत नहुनु समस्या भएको ओलीको भनाइ छ । सत्ता गठबन्धनले अमेरिकासँग एमसीसी पारित गर्न समय माग्ने अनि यता नागरिकलाई पारित गर्न हुन्न भनेर उचाल्ने दुई किसिमको चरित्र भएको अध्यक्ष ओलीको भनाइ छ ।

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी मुख्यालयलाई पत्र लेख्नु कुटनीतिक मर्यादा विपरीत भएको पनि उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार