एमसीसी विवादका कारण सत्ता गठबन्धन धरापमा परेको वेला आज पनि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाववादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । वार्ताको क्रममा प्रचण्डले देउवालाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन खोजेको हो ? भन्ने प्रश्न गरेको बताइन्छ ।
प्रचण्डको प्रश्नमा माधव नेपालले पनि साथ दिँदै सभामुख हटाउन हस्ताक्षर संकलन भएको हल्ला सुनेको भन्दै प्रधानमन्त्रीको जवाफ मागेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले सभामुख हटाउने विषय सोच्न पनि नसकिने बताएको बालुवाटार स्रोतले बतायो ।
सभामुख हटाउने विषय सोच्नै नसकिने भन्दै देउवाले हस्ताक्षर संकलन भएको आफूलाई थाहा नभएको बताएका थिए । अनावश्यक हल्लाको पछि नलाग्न पनि देउवाले प्रचण्ड र नेता नेपाललाई आग्रह गरेको बताइन्छ ।
छलफलको क्रममा प्रचण्ड र नेपालले फागुन २ गते बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन ४ गतेलाई सार्न उपयुक्त हुने सुझाव दिएका छन् । आगामी बैठकमा एमसीसी टेवल गर्ने देउवाको तयारी भए पनि प्रचण्ड र नेपाल सहमत भएका छैनन् ।








