संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री प्रेम आलेले मुख छाडेको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत ओलीले आफूबिरुद्ध स्टाटस लेखेको भन्दै आलेले सुन्नै नसकिने अश्लील शब्द प्रयोग गरेका छन् ।
अहिले सार्वजनिक भएको अडियोमा मन्त्री आलेले जगत ओलीलाई शुरुमा तपाईँ अहिले कहाँ हुनुहुन्छ भनेर सोधेको सुनिन्छ । जगत ओलीले म मुम्बई भन्ने बित्तिकै मन्त्री आलेले लगातार मुख छाडेर बोलेका छन् । तँ जहाँ छस् त्यहीँबाट उठाइदिन्छु , तेरो हात खुट्टा भाँचिदिन्छु लगायतका धम्की दिँदै आलेले यस्ता अश्लील शब्द बोलेका छन् जो परिवारका सदस्यसँग बसेर सुन्न सकिदैन ।
उता जगत ओलीले पनि आलेले प्रयोग गरेकै शब्द बारम्बार प्रयोग गरेका छन् । मन्त्री आलेको उक्त अडियो भाइरल भएपछि आलेको सचिवालयले भने मन्त्रीको लोकप्रियताबाट अत्तालिएकाहरुले बदनाम गर्न खोजेको बताएको छ ।








