एमसीसीमा प्रचण्डले दोहोरो चरित्र देखाएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । सत्ता गठबन्धनको आइतबार बिहान बसेको बैठकमा एमसीसी संसदमा टेबुल गर्न दिने सहमति जनाएका प्रचण्ड सदनमा एमसीसी टेबु्ल हुँदा मौन बसे । तर, बेलुकी घरमा फर्किएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भने : हामी एमसीसीको विरोधमा छौं, यो कुरा हाम्रो संसदीय दलको बैठक र पार्टीले स्पष्ट पारिसकेको छ ।
एमसीसीको विरोधमा छौं भनेर स्टाटस लेखेका प्रचण्डको एमसीसीका सन्दर्भमा फरक फरक भूमिका रहे । एमसीसी अनुमोदनका लागि बढीमा पाँच महिनाको समय माग्दै उनी र प्रधानमन्त्री शेरबहादुर देउवा मिलेर अमेरिकालाई चिठी लेखे । चिठी लेखेको कुरा उनले लामो समय गोप्य मात्रै राखेनन् देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकालाई प्रचण्ड र मैले चिठी नै पठाएका छौं भन्दा उनले त्यसलाई ठाडै अस्वीकार गरे ।
चिठी पठाएको कुरा सार्वजनिक सञ्चार माध्यममा बोलेको भन्दै प्रचण्डले देउवासँग असन्तुष्टी जनाए । तर, कही दिनअघि चिठी नै जस्ताको तस्तै सार्वजनिक भएपछि प्रचण्ड नाजवाफ भए । चिठी सार्वजनिक भएपछि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु को फोन प्रचण्ड,देउवा र ओलीलाई पालैपालो आयो । प्रचण्डले लु लाई एमसीसी अघि बढाउने कुरामा विश्वस्त हुन आग्रह गरे । त्यसबीचमा सडक तात्न शुरु भइसकेको थियो । चुनावको मिति पनि घोषणा भइसकेको अवस्थामा एमसीसी अघि बढाउँदा भोट घट्ने चिन्ताका कारण प्रचण्डले एमसीसी चुनाव पछि सार्नका लागि देउवालाई बारम्बार आग्रह गरे । तर, मुडी स्वभावका देउवा प्रचण्डको आग्रहसँग सहमत भएनन् ।
प्रचण्डले देउवालाई सडकबाट साइजमा ल्याउने विचार राखे । कार्यकर्तालाई सडकमा एमसीसीको विरोधमा उतारे । उता देउवाले एमसीसी या सरकार मध्ये एक रोज्न प्रचण्डलाई निरन्तर दबाब दिइरहे । तर, एमसीसी र सरकार दुबै छाड्न सक्ने अवस्थामा प्रचण्ड भएनन् । एमसीसी छाडौं, अमेरिकालाई चिठी नै लेखेको अवस्थामा अमेरिकाले द्धन्दकालिन मुद्दा उचालेर सिध्याउला भन्ने डर । अनि सरकार छाडौं फेरि ओली सरकारमा आएर सिध्याउलान् भन्ने डर ।
डरैडरका बीचमा प्रचण्डले सरकार पनि छाड्न सकेनन् र एमसीसी पनि । राष्ट्रवादी देखिने लोभ प्रचण्डमा एकातिर रह्यो भने अर्कातिर अमेरिकासँग वचनमा पक्का रहेर विश्वास टिकाइराख्नुपर्ने बाध्यता रह्यो । त्यसपछि प्रचण्डले गठबन्धनमा एमसीसी अघि बढाउन सहमति जनाए । त्यसो गर्दा गठबन्धन जोगिने भयो । उता राष्ट्रवादी देखिन पार्टीका प्रम्ुख सचेतक देव गुरुङलाई संसदमा एमसीसीको विरोध गर्न लगाए भने सडकमा कार्यकर्तालाई ।
एमसीसी टेबुल गर्ने काम अर्थमन्त्रीको थियो । तर, माओवादीले एमसीसी टेबुल गरेको अपजस आउन सक्छ भन्ने डरले अर्थमन्त्री जनार्दन शर्मालाई बिरामी परेको बहाना गरी घरमै आराम गर्न लगाए । आइतबारको संसदको कार्यसूचीमा अर्थमन्त्रीले एमसीसी टेबुल गर्ने उल्लेख थियो । तर, प्रचण्डको निर्देशन बमोजिम अर्थमन्त्री बिरामी परेर घरमै सुतिदिए । उनी के र कस्तो बिरामी भन्ने सार्वजनिक भएको छैन ।
यसरी एमसीसीका संन्दर्भमा प्रचण्डका अनेक लिला देखिए । संसदमा टेबुल भएको एमसीसी अब संसदको प्रकृयामा जानेछ । संसदीय प्रकृयामा एमसीसी गएपछि प्रचण्डको अर्को लिला पनि देखिने सत्ता गठबन्धनकै नेताहरुको भनाई छ । सम्भवतः प्रचण्डले एमसीसी मतादनको प्रकृयामा जाने दिन आफ्ना सांसदहरुलाई एमसीसीको विरोध गर्दै संसदमा उपस्थित नै नभइदिन निर्देशन दिनेछन् । त्यसो हुँदा संसदमा उपस्थित नेपाली कांग्रेस र अन्य दलका केही सांसदहरुको समर्थनमा एमसीसी अनुमोदन हुनेछ ।








