काठमाडौंको पशुपतिनाथ मन्दिरको आर्यघाटमा रहेको पुलको पर्खाल भत्किएको छ । दक्षिणतर्फको पुलको उत्तरतिरको भाग भत्किँदा दुई जना घाइते भएका थिए ।
महाशिवरात्रिमा दर्शनार्थीको भीड बिहानदेखि बेलुका १० बजेसम्म उत्तिकै थियो । दर्शनार्थीहरु ठेलमठेल गरेर हिडिरहेका थिए, अचानक पुलको पर्खाल भत्किएपछि भीड तितरवितर भएको थियो । पर्खाल भत्किँदा दुईजना पानीमा खसेर घाइते भएका थिए ।
पानीमा खसेका राजन ओली डुब्न लाग्दा पनि त्यहाँ मानिसहरु टिकटक र भिडियो गर्नमा व्यस्त थिए । अचानक हामीले देख्यौँ र उद्धार लागि पानीमा गएर उनलाई बाहिर निकालेको १०० ग्रुपका दिपेश धुन्जुले जानकारी दिए । उनी भन्छन्, ” हामीले उहाँलाई बाहिर निकाले कहाँ कहाँ चोटपटक लागेको छ भनेर हे¥यौँ र खुल्ला ठाउँमा लिएर गयौँ । उहाँको ढाड र खुट्टामा चोटपटक लागेको र स्वास्थ्य स्थिति नाजुक भएका कारण प्रहरी र हाम्रो टिमले बोकर उहाँलाई एम्बुलेन्समा हालेर अस्पताल पठायौँ ।”
उनका अनुसार पर्खाल भत्किँदा पानीमा खसेका मध्ये ३० वर्षीय राजन ओलीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाइएको छ । अर्का एक घाइते चाहिँ सामान्य उपचारपछि फर्किएको उनले बताए ।
काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार शिवरात्रीको दिन मंगलबार ७ लाख बढी दर्शनार्थी पशुपति आएको अनुमान गरिएको छ । पशुपतिमा उछृंखल गतिविधि गर्ने केहीलाई नियन्त्रणमा पनि लिइएको उनले बताए ।













