महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई रुद्राक्ष माला, शिवनामी एवं दक्षिणासहित बिदाइ गरिएको छ ।
महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आउनुभएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेका हुन् । संस्थानले बिहीबार र आजसमेत साधुसन्तलाई बिदाइ गरेको पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मा घिमिरेले जानकारी दिए ।
गोरखनाथ अखडाका साधुसन्तलाई भने बिदाइ गर्न बाँकी रहेको संस्थानले जनाएको छ ।
बिदाइका अवसरमा फागुन कृष्ण एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गरेको सामग्रीसहित दक्षिणा पनि दिइएको उनले बताए । संस्थानले रु ९०० देखि रु आठ हजारसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ । नागाबाबालाई रु आठ हजार र अन्यलाई रु ९०० भन्दामाथि दक्षिणा दिइएको संस्थानका प्रवक्ता जनक पोखरेलले बताए ।
यसैगरी कोषले पनि रु १०५ देखि रु पाँच हजार १०० सम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ ।








