काठमाडौं, २६ फागुन । शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलले ब्रिटिश काउन्सिल अन्तर्गतको सामाजिक कार्य परियोजना २०२२ (सोसल एक्सन प्रोजेक्ट) सञ्चालन गर्दै आएको छ ।
यसै सिलसिलामा सो विद्यालयका विद्यार्थीहरुले शान्तिनगरदेखि काठमाडौं महानगरपालिका ३१ वडाका विभिन्न टोलमा गएर सरसफाई कार्यक्रम सञ्चालन गर्नुका साथै सरसफाईबारे चेतनामूलक सन्देश पनि प्रवाह गरेका छन ।
विद्यालयका संस्थापक प्रिन्सिपल राजु राईदेखि विद्यालयका निर्देशक टिकाप्रसाद सुवेदी, सामाजिक परियोजना कार्यकी संयोजक एवम् शिक्षिका अनिता सिग्देलसहितको विद्यार्थी टोली टोल सरसफाई गर्न र सरसफाईबारे जनचेतना फैलाउने सडकमा उत्रेको थियो । उनीहरुले पैदलयात्रीलाई मास्कसमेत वितरण गरेका थिए ।
ब्यानर, पम्प्लेट र फोहोर संकलन गर्ने भाँडो सहित सडकमा उत्रेका विद्यार्थीहरुले बोेकेको सन्देशमूलक नारा सहितको पम्प्लेट ‘सके टोलछिमेक सफा राखौं, नसके फोहोर चाँहि नगरौं’ प्रति सबैको चासो साथ हेरेका थिए ।
सो परियोजना अन्तर्गत बागमती नदी किनारमा बस्दै आएका किशोर किशोरी र महिलाहरुलाई विद्यालयमै बोलाएर सेनिटरी प्याड, मास्क र सेनिटाइजर समेत वितरण गरेको कार्यक्रम संयोजक अनिता सिग्देलले बताइन् ।

सरसफाई लगायतका सामाजिक कार्य आयोजना गर्न विद्यालयले महानगरपालिकाको ३१ नं वडा कार्यालय र स्थानीय टोलमा रहेको सामाजिक संस्था ‘समावेशी महिला मञ्च’संग सहकार्य गर्दै आएको छ ।
गुणस्तरीय शिक्षाको साथै विद्यार्थीलाई सामाजिक उत्तरदायी बनाउन पहल गर्दै आएको बेबिलोन नेशनल स्कुल, ब्रिटिस काउन्सिलबाट पटक पटक ‘इन्टरनेशनल स्कुल अवार्ड’ जितेकोे स्कुल हो ।







