एमसीसी अनुमोदन भएको केही समयपछि नै अब छिट्टै चिनियाँ विदेश मन्त्री नेपाल आउन लागेको समाचार सार्वजनिक भएको छ । यो समाचार एक हिसाबले सामान्य पनि हो र, अर्को हिसाबले निकै ठूलो र अर्थपूर्ण पनि ।
एमसीसी अनुमोदन भएपछि स्वभाविक रुपमा अमेरिका खुसी र चीन चिन्तित भएको हुनुपर्छ । किनकि एमसीसीका विषयमा काठमाडौंंको नयाँ वानेश्वरस्थित संसद भवन बाहिर ढुंगा हानाहान भइरहँदा अमेरिका र चीनका बीचमा चाहिँ एक हिसाबको वाक् युद्ध चलिरहेको थियो । अमेरिका भन्थ्यो, एमसीसी संसदबाट पास भएन भने चीनको दबाबका कारण पास भएन भनेर हामी बुझ्छौं । अनि उता चीन भन्थ्यो, तिम्रा बलजफ्ती कुटनीतिको फुर्ति हामीलाई नलगाऊ । एमसीसी पास गराउँन अमेरिका भएभरको शक्ति लगाएर मैदानमा उत्रिएको थियो भने चीन एमसीसी रोक्न घुँडा धसेर लागेको थियो । अन्तिममा अमेरिका सफल भयो भने चीन यो मामलामा असफल ।
एमसीसी अमेरिका र चीनको प्रतिष्ठाको विषय थियो । यो प्रतिष्ठाको लडाइँमा अेमरिकाले जित्यो, चीनले हा¥यो । हुन त यसलाई यो रुपमा व्याख्या गर्नुहुँदैन भनेर पनि एमसीसीको व्याख्यात्मक टीप्पणी सहित अनुमोदन गरेकाहरुले भन्लान् । तर, धेरै व्याख्या नगरिकन सिधा रुपमा भन्नुपर्दा भएको त्यही नै हो ।
एमसीसी अनुमोदन भएको कुरा चीनलाई मन नपरेको सत्य हो । आफूले भएभरको प्रयास गर्दा पनि एमसीसी रोक्न नसकेपछि चीन स्वभाविक रुपमा रन्थनिएको छ । अब यो रन्थनको नतिजा चाहिँ कस्तो निस्किएला ? यतिबेला सबैको चासो र चिन्ताको विषय यही बनेको छ ।
धेरै विश्लेषकहरुले यो बीचमा एमसीसी अनुमोदन भयो भने चीन चुप लागेर बस्दैन भनेका थिए । उनीहरुको बुझाई थियो, चीनले कुनै न कुनै प्रकारको स्टेप चाल्नेछ । त्यहीमध्येको कुनै स्टेपको संकेत दिनका लागि चिनियाँ विदेशमन्त्री नेपाल आउँन लागेका त होइनन् ? यो प्रश्न यतिबेला स्वभाविक रुपमा जनजनका मनमा उब्जिएको छ ।
छिमेकी आउनु कुनै आश्चर्यको कुरा होइन । तर, कस्तो समयमा छिमेकी आउँदैछन् भन्ने कुरा चाहिँ महत्वपूर्ण हो । पक्कै पनि चिनियाँ विदेशमन्त्री घुमघाम, रमाइलो र नेपालका नेताहरुको सञ्चो विसञ्चो बुझ्नका लागि मात्रै आउन लागेका होइनन् । एमसीसी अनुमोदन भएपछिको यो अवस्थामा प्रष्टरुपमा उनी नेताहरुलाई केही भन्न नेपाल आउँदैछन् । उनी आउने खबर पाएपछि कतिपय नेताको यहाँ सात्तो उडेको हुनुपर्छ किनकि केही नेता जसले अहिले मानेपनि नमानेपनि यो बीचमा चीनलाई भनेकै हुन् : हामी एमसीसी रोकिदिन्छौं तपाईँ ढुक्क हुनुस् । उस्तै परे केही नेताले एमसीसी रोक्ने सर्तमा केही पैसा पनि लतारेका छन् । त्यो भोलिका दिनमा खुल्दै जाला अहिले धेरै नबोलौं । एमसीसीको मामलामा चीनलाई ढुक्क हुनुस् भनेर केही नेताले बेइमान गरेकै हुन् । उता एमसीसी रोकिदिन्छौं भन्ने अनि यता भित्रभित्रै व्याख्यात्मक टिप्पणीका बुँदा लेखेर चीनलाई लोप्पा खुवाइदिने । पक्कै यो कुराले चीन चिढिएको छ । अब लोप्पा खुवाईदिने ती नेतालाई चिनियाँ विदेशमन्त्रीेले यहाँ आएपछि धन्यवाद पक्कै नभन्लान् ।
एमसीसी मामलामा हारेको चीन उसको बिआरआईमा स्वभाविक रुपमा जित्न चाहन्छ । अब चिनियाँ विदेशमन्त्रीले नेपाल भ्रमणका क्रममा यहाँका नेताहरुलाई बिआरआईको विषयले चेपुवामा पार्नेछन् । केही नयाँ प्रावधान अघि सारेर मान्छौं कि मान्दैनौं शैलीमा औंला ठड्याउनेछन् । त्यतिबेला हस् हजुर भन्नुबाहेक अर्को विकल्प सायद नहोला ।








