बिहिबारबाट विधिवत् रुपमा फागु अर्थात होली पर्व सुरु भएको छ ।
वसन्तपुर दरबार स्क्वायरमा ध्वजासहितको रंगीविरंगी चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो । बिहिबार बिहान ७ः२७ बजेको साइतमा चीर ठड्याइएको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा नै चीर उठाइएको धाला सि क्व मानन्धरका सहसचिव गजेन्द्रप्रसाद मान्धरले जानकारी दिए । भगवान् विष्णुका भक्त प्रल्हादका बुबा हिरण्यकशिपुले आफ्नै छोरालाई मार्न आफ्नी बहिनी होलिकालाई निर्देशन दिन्छन् । होलिकाले प्रल्हादलाई काखमा बसाली आगो लगाउछिन् । आगोले नमर्ने बरदान पाएका प्रल्हाद जल्ने कुरै भएन होलीका आफै जल्छिन् । यसरी होलिकाको मृत्यु भएको खुशीयालीमा होली मनाउन सुरु गरिएको कथन रहेको छ ।
चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिएको थियो । त्यसपछि मयलको रुखको हाँगा लिएर गुरुजुको पल्टनले पशुपतिनाथमा चढाएको थियो । शार्दुलजंग गुल्मबाट गएको टोलीले पशुपतिपति क्षेत्रमा रहेको श्लेष्मान्तक वनबाट मयलको रुखको हाँगा काटेर पशुपतिनाथलाई चढाएर वसन्तपुर ल्याइएको थियो । यसरी मयलको रुख चढाएर पशुपतिनाथलाई वसन्तपुरमा होली खेल्न निमन्त्रणा दिने चलन रहेको बताइन्छ ।
अबको ८ दिनपछि अर्थात् फागु पूर्णिमाको दिन हर्षबढाइँ गरेर यो चीर ढालिन्छ । ढालिएको चीरलाई घिसार्दै टुँडिखेलमा लाने चलन छ । चीरको दहन गरेपछि औपचारिक रुपमा यस वर्षको होली सकिनेछ ।






