बलराम प्यासी || काठमाण्डौं, २८ फागुन ।
सरकारी स्तरमै उच्च शिक्षाको लागि नेपाली विद्यार्थी जापान जान थालेको १ सय २० वर्ष भयो । राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देव शमसेरले आफ्नो छोटो कार्यकालमा ८ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा अध्ययनको लागि जापान पठाउने निर्णय गरेका थिए ।
त्यसपछिका प्रधानमन्त्री श्री ३ चन्द्र शमसेरले ती विद्यार्थीलाई सन् १९०२ मार्च ८ मा भारत हुँदै जापान पठाएका थिए । ८ जना नेपाली विद्यार्थीलाई पढाईमा कुनै दुःख नहोस भनेर उनीहरुको साथमा १७ जना सुसारे पनि जापान गएका थिए । उनीहरुसंग गाइडको रुपमा स्वामी पुरानन्द गिरी थिए ।

यसरी पहिलोपटक जापानमा उच्च शिक्षा पढ्न जाने नेपाली विद्यार्थीहरुमा जंगनरसिंह राणा र भक्तबहादुर बस्न्यात हतियार इन्जिनियरिङ्ग, देव नरसिंह राणा र वालनरसिंह रायमाझि खनिज, दीप नरसिंह राणा कृषि, हेम बहादुर राजभण्डारी मेकानिकल इन्जिनिरिङ्ग, रुद्रलाल सिंह व्यवहारिक रसायनशास्त्र र विचारमान सिंह सेरामिक्स (माटोको भाँडा,पछि रेशम खेती) बारे थिए ।
नेपाली विद्यार्थी जापानमा उच्च शिक्षा पढ्न जान थालेको १ सय २० वर्ष पुगेको अवसरमा जापानमा उच्च शिक्षा पढेर फर्केका नेपाली विद्यार्थीहरुको संस्था ‘जुआन’ले आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रममा नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपाल र जापानवीचको सम्वन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै कोरोना महामारीका कारण विगत २ वर्षदेखि जापानमा पढ्न जान नपाएका नेपाली विद्यार्थीहरुका लागि सोमबार १४ मार्चदेखि राजदूतावासले जापान जानको लागि सहज बनाइदिने बताए ।

पछिल्लो समय नेपाली युवा विद्यार्थीहरु अध्ययनको लागि जापानमा आर्कषित हुन थालेको राजदूत किकुताको भनाई थियो । पछिल्लो समय जापानमा पढ्न जाने नेपाली विद्याथीको संख्या चीन र भियतनामपछि तेस्रोमा आउँछ ।
सन् १९६० मा जापानमा उच्च शिक्षा अध्ययन गरेर नेपाल फर्केका तत्कालिन ‘जुसान’ का पुर्व अध्यक्ष हरेन्द्र वरुवाले नेपाली विद्यार्थी जापान गएर पढ्न थालेको इतिहासबारे नालीबेली सुनाए । त्यतिखेर नेपाली विद्यार्थीले जापानबाट उच्च शिक्षाको साथै जापानी कला संस्कृति र देशभक्तिपन सिकेर फर्केको उल्लेख गरे । दोस्रो विश्वयुद्धपछि जापान आधुनिकीकरण भएको तर आफ्नो परम्परा र संस्कृतिलाई भने जीवित राख्न सफल भएको वरुवाले बताए ।

जुआनका अध्यक्ष डा.प्रवीण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हिमालय शमशेर जवराका छोरा अशोक शमशेर राणा, जापान वैदेशिक सहयोग नियोग ‘जाइका’का प्रमुख प्रतिनिधि आकिमिचु ओकुबो, जुआनका उपाध्यक्ष डा.खड्ग केसी, महासचिव डा.जीवन भट्टराई, जानका अध्यक्ष डा.रामचन्द्र भुषाल, ओट्सका अध्यक्ष प्रशन्नलाल श्रेष्ठ, जाल्टानका अध्यक्ष मनिष श्रेष्ठ, फुलब्राइटका अध्यक्ष किर्तिविलाश जोशी, ब्रिटिस एलुम्नाई अध्यक्ष डा.उत्तमबाबु पन्त, आनाका अध्यक्ष अनन्त पौडेल, राईसनका अध्यक्ष डा.ताराप्रसाद सापकोटा, जुआनका पुर्व अध्यक्ष डा.दिनेशराज भुजलगायतले विद्यार्थीतहदेखि नेपाल र जापानवीचको सम्वन्धका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकको पहिलो वैदेशिक खाता जापानमा खोल्न विशेष योगदान गरेका नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हिमालय शमशेर राणालाई जुआन संस्थाको संरक्षकमा मनोनित गरिएको घोषणा गरियो ।
(जुआन संस्थाको संस्थापक अध्यक्ष इलेक्ट्रिकल इन्जियर पद्मसुन्दर मल्ल हुन । उनी सन् १९१६ मा जापानमा पढेका थिए ।)









