काठमाडौं, ३० फागुन ।
कृषि सूचना तथा तालीम केन्द्रमा कार्यरत वरिष्ठ क्यामेरापर्सन चन्द्र बहादुर विष्टको ४२ वर्षको उमेरमा सोमबार विहान २ वजे निधन भयो । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका ९ भिमानका स्थायी वासिन्दा उनी लामो समयदेखि राजधानीमा बस्दै आएका थिए । उनी अविवाहित थिए ।
शुक्रबार विहान मष्तिस्क आघात (ब्रेन स्ट्रोक) भई सिभिल अस्पताल हुँदै महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारको क्रममा उनको निधन भएको थियो ।
शुक्रबार विहान आफ्नो कोठामा शारिरीक अभ्यास गर्ने क्रममा मुटुको रक्तनली फुटेर अत्यधिक मात्रामा रक्तश्राव भएपछि उनकी दिदी बिन्द्रा इजाम लिम्बुले तत्काल उपचारको लागि उनलाई निजामति कर्मचारी (सिभिल) अस्पताल लगेकी थिइन् । त्यहाँ उनको उपचार हुन नसकेपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो ।
च्यानल नेपाल टेलिभिजन, एभेन्यूज टेलिभिजन, अरनिको टेलिभिजन, काष्ठमण्डप टेलिभिजन र कृषि टिभि हुँदै पछिल्लो समय उनी कृषि सूचना तथा तालीम केन्द्रमा वरिष्ठ क्यामेरापर्सनको रुपमा कार्यरत थिए । केही दिन अघिमात्रै उनी छायाँकनको सिलसिलामा पोखरा गएर फर्केका थिए ।
आफ्नो पेशाप्रति दत्तचित्त, इमान्दार र कर्तव्यनिष्ट क्यामेरापर्सनको रुपमा छवि बनाएका उनले छायाँकन गरेका श्रव्यदृष्य सामग्री अहिलेपनि विभिन्न टेलिभिजनमा देख्न पाइन्छ ।
गत साउन २८ गते आफ्नी आमा मित्रकुमारी विष्ट गुमाएका उनी आमाको निधन भएको ७ महिनापछि विते । स्वर्गीय बिष्टको सोमबार विहान पशुपति आर्यघाटस्थित विद्युतिय शवदाह गृहमा दाहसंस्कार गरियो । उनको पार्थिव शरीरमा उनका दाजु वरिष्ठ पत्रकार हेमबहादुर विष्टले दागवत्ति दिएका थिए ।

स्वर्गीय बिष्टलाई आजकोप्रेस डटकमका सम्पादक रोहित भण्डारी ‘सुकदेव’, सह–सम्पादक बलराम प्यासी, पत्रकार सुस्मिता पाठक, च्यानल नेपालका वरिष्ठ फोटोग्राफर न्हुच्छेमान डंगोल, फिल्मशाला टिभिका कार्यक्रम उत्पादक÷चलचित्र निर्देशक श्रीहरी श्रेष्ठ, हेल्थपाटी डटकमका सिईओ जगन्नाथ ढकाल, , कृषि सुचना सञ्चार तथा प्रशिक्षण केन्द्रका प्रमुख तथा अधिकारीहरु र कार्यक्रम सञ्चालक महोदत्त चापागाई ‘सौगात’ लगायतले अन्तिम श्रद्धान्जली व्यक्त गरेका थिए ।
उनले आफ्ना मित्र वरिष्ठ पत्रकार बलराम प्यासीलाई आँखाको नानी दान गर्ने इच्छा प्रकट गरे अनुसार स्व.बिष्टको दुवै आँखाको नानी नेपाल आँखा बैंकका प्रवन्धक शंखनारायण त्वायनाको उपस्थितिमा नेपाल आँखा बैंकका प्राविधिक विष्णु रिमाल र आँखासम्वन्धि जनचेतना फैलाउने काउन्सिलर समिता अर्यालले निकालेका थिए ।
नेपालको श्रव्यदृष्य छायाँकनको क्षेत्रमा झण्डै २५ वर्ष बिताएका स्वर्गीय बिष्टको निधनले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।








