नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले आगामी तीनै तहको निर्वाचनमा पाँच दलबीच गठबन्धन हुने दावी गरेका छन् ।
रिपोटर्स क्लबले बुधबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले गठबन्धन रहर नभएर बाध्यता भएको भन्दै आगामी निर्वाचनमा पनि गठबन्धन जारी रहने बताएका हुन् ।
उनले नेपाली जनताको भावनाअनुसार राजनीतिक स्थिरता ल्याउनका लागि गठबन्धन तोड्न नहुने बताए । त्यस्तै कांग्रेसका नेता डा. रणबहादुर रावलले अहिले पनि पाँच दलीय गठबन्धनको आवश्यकत्ता रहेको भन्दै निर्वाचनमा पनि गठबन्धन गरेर अघि बढ्ने बताए ।
गठबन्धन गरेपछि विश्वासका साथ सबै दल अघि बढ्नुपर्ने उनको भनाई छ । साक्षात्कारमा नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले अहिलेपनि नेपाली राजनीतिमा सहमति, सहकार्य र एकता हुने कुरा स्वभाविक नै भएको बताए ।
सत्ता गठबन्धनबीच स्थानीय तहको निर्वाचनमा सहकार्य गर्नेबारे सकारात्मक रुपमा छलफल चलिरहेको उनको भनाई थियो ।








