नेपाल नागरिक अभियानका राष्ट्रिय अध्यक्ष तथा शसष्त्र प्रहरीका पूर्व एआइजी डा.ठाकुरमोहन श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूबाट लगेको २ लाख रुपैंयाँ फिर्ता गरेको जानकारी दिएका छन् ।
वर्षौंअघि ओलीले २ लाख रुपैंयाँ लगेको तर, हालसम्म पनि फिर्ता नगरेको भन्दै डा.श्रेष्ठले केहीदिनअघि नेपाल नागरिक अभियानको साधारणसभामा बोलेका थिए । उनले बोलेको कुरा आजको प्रेसको युट्युब च्यानल र फेसबुक पेजमा अप्लोड भएको थियो भने ओलीले लगेको भनिएको २ लाख रुपैंयाँको प्रसंगसहितका विषयमा आजको प्रेसले डा. श्रेष्ठको अन्तर्वार्ता लिएको थियो । सो अन्तर्वार्ता सार्वजनिक भएपछि पैसा फिर्ता भएको डा.श्रेष्ठले बताए ।
ओलीका तर्फबाट एमालेकी एकजना महिला नेतृले डा.श्रेष्ठको घरमै गएर २ लाख रुपैंयाँ फिर्ता गरेको उनले जानकारी दिए । ओलीको इमान्दारिताको आफूले कदर गर्ने बताउँदै डा.श्रेष्ठले राष्ट्रिय स्वाधिनता, अखण्डता र सनातन संस्कृति तथा परम्पराको संरक्षणमा ओलीलाई आफ्नो साथ सँधै रहने बताए ।
तत्कालिन समयमा ओलीले लगेको २ लाख रुपैंयाँ पारिवारिक सरसापट मात्रै भएको बताउँदै उनले यसलाई अन्यथा रुपमा नबुझिदिन आग्रह समेत गरे ।
ओलीले २ लाख रुपैंयाँ नदिएको भन्ने त्यतिबेलाको प्रसंग तथा अन्य विषयमा केन्द्रीत रहेर केहिदिनअघि डा.श्रेष्ठसँग गरिएको कुराकानी तलको भिडियो लिंकमा क्लिक गरेर हेर्न सकिन्छ ।




