Logo
७ जेष्ठ २०८३, बिहीबार
|  Thu May 21 2026

माधव नेपाललाई किन भेटेनन् चिनियाँ विदेश मन्त्रीले ?


चिनियाँ विदेश मन्त्री वाङ यी सँगको भेटघाटका लागि माधव नेपालले गरेका अनेकन प्रयास असफल भएका छन् । ३ दिने नेपाल भ्रमणमा आएका वाङसँग भेट्न माधव नेपालले सबै सूत्र प्रयोग गरेपनि त्यो असफल भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीलाई आफू बसेको होटेलमै बोलाएर दर्शनभेट दिएका वाङ यी ले माधव नेपाललाई वास्तै गरेनन् । अन्तर्राष्ट्रिय सम्बन्ध र त्यसमा पनि चीन, कोरिया लगायतका देशसँग विशेष सम्बन्ध रहेको भनिएका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई चिनियाँ विदेशमन्त्रीले भेट नदिनुलाई यतिबेला राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
सत्ता गठबन्धनलाई भन्दा पनि चीनले कम्युनिष्ट गठबन्धनलाई महत्व दिएको तर, माधव नेपालको रुची सत्ता गठबन्धनप्रति ज्यादा भएका कारण चीनले माधव नेपाललाई वास्ता नगरेको कतिपयको बुझाई छ ।

माधव नेपालले वाङसँगको भेटका लागि सरकारी स्तरको कुटनीतिक प्रयास पनि गरेका थिए । परराष्ट्र स्रोतका अनुसार वाङसँग माधव नेपालको भेटका लागि सरकारी प्रयास पनि भयो तर, वाङले चासो दिएनन् । वाङले माधव नेपालसँग अहिले किन भेटिरहनुप¥यो र भन्ने जवाफ नेपालको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीलाई दिएको बुझिएको छ । आसन्न चुनावमा माधव नेपालले नेतृत्व गरेको पार्टी जनताबाट अनुमोदन हुन्छ या हुँदैन भन्ने कुरालाई चीनले महत्वका साथ हेरेको र त्यसैका आधारमा माधव नेपालको पार्टीसँग व्यवहार गर्ने चीनको योजना रहेको कतिपयको ठम्याई छ ।

नेकपा एमालेले माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई पार्टी नै नमानेको र संसदमा माधव नेपाल सहितका नेताहरुको उपस्थितीलाई गैह्र सांसदको उपस्थिती भनिरहेको अबस्थामा चीनियाँ विदेशमन्त्रीले समेत बेवास्ता गर्नु सामान्य विषय होइन । माधव नेपाललाई चिनियाँ विदेशमन्त्रीले भाउ नदिएको प्रसंगबाट यतिबेला एमाले खुसी भएको छ भने एकीकृत समाजवादी चिन्तित रहेको सहजै अनुमान लगाउँन सकिन्छ ।

त्यसो त यो बीचमा एमाले र माओवादी केन्द्रका नेताहरुले पालैपालो चीनको भ्रमण समेत गरेर चीनसँग आफूहरुको सम्बन्ध मजबुत रहेको सन्देश दिन भ्याएका छन् भने नेकपा एकीकृत समाजवादी यो मामलामा पछि परेको छ । चिनियाँ विदेशमन्त्री नेपाल आउनुअघि नै एमाले उपाध्यक्ष विष्णु पौडेल सहितका नेताहरु चीन भ्रमणमा गए भने यो बीचमा उपचारका लागि भनेर चीन उडेका वर्षमान पुनसँगै देव गुरुङ पनि उतै गएका छन् ।

एमाले र माओवादी नेताहरु चीन भ्रमणमा पालैपालो जानु अनि चीनबाट त्यहाँका विदेशमन्त्री नेपाल आउँदा समेत माधव नेपाललाई चाहिँ वास्तै नगर्नु यो सामान्य विषय होइन । हुन त एकीकृत समाजवादीका तल्लो तहका नेताहरुले भन्लान् , एकजना विदेशमन्त्रीले भेट्न्ु या नभेट्नु भन्ने कुरा ठूलो होइन । तर, जसले जे भनेपनि राजनीति र कुटनीतिमा यसको अर्थ निश्चय नै ठूलो छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार